अपडेटःसडक दुर्घटनामा २ को मृत्यु, चक्काजाम खुल्यो

असल शासन प्रतिनिधि

बाँके/बाँकेमा भएका दुई सडक दुर्घटनाबाट दुईजनाले ज्यान गुमाएपछि कोलपुर नगरपालिका वडा नम्बर ५ किरण नाला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुर दिनभर तनावपूर्ण रह्यो । करिब २ घण्टा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भयो । दिउँसो पीडित पक्षसँग वार्ता टुङ्गिएपछि सवारी साधन निर्वाध रूपमा चलिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनाः १
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका–३ किरण नाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का वीरेन्द्र शाहीको ज्यान गएको छ । मृतकका आफन्त र स्थानीयले दुर्घटनास्थलमा टायर बालेर चक्काजाम गरेका थिए । पूर्वबाट पश्चिम जाँदै गरेको भे१ख २२३९ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको भे१०प ५६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । यस्तै साइकल यात्री प्रदीप आचार्य गम्भीर घाइते छन् भने पैदल यात्री प्रकाश महतरा समेत घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुरको किरण नाला स्थानीयद्वारा टायर बालेर सडक अवरुद्ध गरेपछि तनावग्रस्त भएको थियो । अहिले अवस्था सामान्य छ ।

दुर्घटनाः २
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित ढकेरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ५४५६ नम्बरको ट्रकले विपरीत दिशातर्फ गईरहेको भेप३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको हो भने चालक सोही ठाउँ बस्ने ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएका छन् । गम्भीर घाइते खड्काको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका मृतकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक परिवारका आफन्तजनले मंगलबार दिउँसो २ घण्टा स्थानीयले सडक अवरुद्ध गरेका थिए । टिप्पर चालकलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने भन्दै उनीहरुले चक्का जाम गरेका थिए । पीडित पक्षको माग सम्बोधन हुने भन्दै प्रहरी प्रशासनसँग वार्तामा बस्ने आश्वासन पाएपछि अहिले अवस्था सामान्य छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech