पूर्ण सरसफाइमा उदाहरणीय बन्दै ‘शक्तिमान’

असल शासन प्रतिनिधि

सुर्खेत (छिन्चु)– भेरीगंगानगरपालिका वडा नम्बर ४ शक्तिमान टोल पूर्ण सरसफाइ उन्मुख घोषण गर्दै वायो स्याण्ड फिल्टर वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४६ जनाको सहभागितामा ३६जना घर परिवारले वायो स्याण्ड फिल्टर प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको छ ।

तिलकुमारी देवकोटाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शक्तिमान टोलका अध्यक्ष गणेशबहादुर वली र स्वागत सुशीला खत्रीले गरिन । कार्यक्रमको आयोजना शक्तिमान टोल विकास संस्था, सहयोग तथा सहकार्य जनता उद्योग प्रालि, सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले गरेको थियोे भने कार्यक्रमको सहजीकरण बास दिगो विकास लक्ष्य परियोजना सुर्खेतले गरेको थियो ।

कार्यक्रममा बोल्दै अतिथि हात्तीसुरे टोल विकास संस्थाका अध्यक्ष धन देवकोटा, साना किसान कृषि सहकारी संस्थाका ज्ञानु भुषाल, जनता उद्योग प्रालिका पवित्रा कठायत, एन्फोका अनिल महर्जनलगायत विभिन्न सरोकारवाला तथा स्थानीय अगुवाले शक्तिमान टोलले पूर्ण सरसफाइमा नमुना टोल भएकोमा हार्दिक बधाई र समन्वय तथा सहकार्यका लागि प्रतिवद्धता गरेका थिए । कार्यक्रममा शक्तिमान टोलका ४६ घरपरिवार बढी रहेका थिए । विगत केही वर्ष यता नगरपालिका र विभिन्न सरोकारवालाको सहकार्यमा पूर्ण सरसफाइ टोल घोषण गर्न लागेको टोलका सदस्यले बताएका छन् ।

टोलमा स्वच्छता, सरसफाइ सम्बन्धी विभिन्न गतिविधि संचालन भएका छन् । टोलमा ३६ घर परिवारमा वायो ग्यास जडान भएको र ३६ जनाले फिल्टर लिएका छन् । भाँडा धुने जुठ्यान सफा राख्ने गरेको, हात धुने व्यवस्थित ठाउँ, पानी र साबुन व्यवस्थापन गरी नियमित हात धुने बानीको विकास भएको छ । पशुगोठ, भान्सा व्यवस्थापन गरिएको छ । टोलका सदस्यले व्यक्तिगत सरसफाइ, चर्पीको उचित प्रयोग गर्ने गरेका छन् । टोल सफा र सुन्दर भएको छ ।

सुन्दर नेपाल संस्थाबाट खुला दिसा मुक्त गाविस छिन्चु घोषणाका क्रम बाट साविक ६ नम्बर वडाबाट प्रेरित भएको, बाल क्लब, आमा समूह, सामुदायिक वन, विद्यालय र सम्बन्धित सरोकारवालाको सक्रिय सहभागितामा टोललाई सरसफाइ र स्वच्छता अभियानमा टेवा पुगेको हो । थप सुधारका लागि बायो ग्यास बनाउन, फोहर व्यवस्थापन गर्न र प्राङ्गारिक मल बनाउन एन्फो संस्थाबाट सहयोग प्राप्त भएको छ ।

सहकर्मी समाज सुर्खेतबाट नियमित सहजीकरण, घरआँगन सरसफाइ, घरदैलो अनुगमन, सुधार गर्नु पर्नेमा सल्लाह सुझाव दिने गरिएको छ । संस्थाले स्थानीय टोलका सदस्यलाई पप्पलेट, तस्बिर र कोडमार्फत् सल्लाह दिने गरेको, टोलका प्रतिनिधिहरु विभिन्न बैठकमा जाँदा हौसला मिलेको, स्वास्थ्यमा सुधार भएको, टोलमा झाडापखाला हुने भएकोमा हाल सुधार भएको, एमवास सिसीको बैठकमा समेत टोलले गरेका राम्रा कामबाट प्रसंशा पाएको अध्यक्ष गणेश वलीले बताए ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech