आत्मबल अभिवृद्धि लागि नेपालगन्जमा आत्मसुरक्षा तालिम

मुना बिष्ट

आत्मबल अभिवृद्धि लागि नेपालगन्जमा आत्मसुरक्षा तालिम

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगन्जमा किशोरी तथा महिलाहरुका लागि आत्म सुरक्षा तालिम शुरु भएको छ ।

महिलाको सुरक्षा, सम्मान र रोजगार : सम्बृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ आंै अन्तराष्ट्रिय महिला दिवस को अवसरमा सो तालिम गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार देखि नेपालगन्जमा सुरु भएको तालिमको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका वरिष्ठ प्रहरी उपरिक्षक किरण रानाले उद्घाटन गरिन ।

उनले आत्मबल बलियो भएमा जस्तो सुकै काम गर्न सकिने भएकाले यस्तो किसिमको तालिमले महिलाहरुको आत्मबल अभिबृद्धी गर्नेमा विश्वास ब्यक्त गरिन् ।

अहिले पनि नेपाल प्रहरीमा ६ प्रतिशत मात्रै महिलाको सहभागिता रहेको भन्दै महिलाहरुलाई अग्रसर हुन अनुरोध समेत गरिन् ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बाँकेमा पछिल्लो एक हप्ता भित्र मात्र ३ वटा वलात्कारको घटना भएकोले महिला माथि हुने हिंसाको अन्त्यका लागि तालिम आवश्यक हुने बताए ।

तालिम दिनको दुई चरणमा सञ्चालन भईरहेको छ । पहिलो चरणमा बिहान ७ बजे देखि १० बजे र दिउसोको चरणमा २ बजे देखि ५ बजे सम्म सञ्चानल गर्ने तालिका बनाइएको छ ।

जसमा ३ सय बढी महिलाको सहभागिता रहेको छ । फागुन २३ गते सम्म चल्ने तालिमको सहजीकरण निरज न्यौपाने , विद्या बिष्ट र कुसुम वि.सिले गरीरहेका छन ।

यस्तो तालिमले आत्मविश्वास बढ्नुका साथै केहि गर्न सक्छु भन्ने भावना पैँदा हुने नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख महिाल विकास अधिकृत शोभा शाहले बताईन ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech