दोस्रो चरणको खोप ज्येष्ठ  नागरिकलाई

असल शासन प्रतिनिधि

बाँके / बाँकेमा दोस्रो चरणको खोप फागुन २३ गतेदेखि २५ गतेसम्म लगाइने भएको छ । पहिलो चरणमा छुटेका र दोस्रो चरण अन्तर्गत पहिलो चरणमा खोप लगाइरहेका ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको खोपबारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले यो अवधिमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउन लागिएको बताए । उनले पहिलो चरणको खोप अभियान सफल भएको बताउदै बाँकेमा पहिलो चरणमा १० हजारले खोप लगाएको जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले ज्येष्ठ नागरिक र छुटेकालाई खोप लगाउनको लागि ८१ वटै वडाका स्वास्थ्य संस्थासँग समन्वय बैठक भइसकेको जानकारी दिए । यसका लागि पालिका स्तरीय खोप समन्वय समिति पनि निर्माण भइसकेको छ । गर्भवती, १८ वर्षमुनिका, गम्भीर बिरामी, एन्टिबायोटिक सेवन गरिरहेका र दीर्घरोगीबाहेक सबैले औषधी सेवन गर्न मिल्ने उनले बताए । हालसम्म देशभरका ४ लाख व्यक्तिले कोरोना खोप लगाइसकेका छन् ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले खोप अभियानलाई सफल बनाउन सबैसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । कोरोनाकालमा बाँकेले देशभर उत्कृष्ट कार्य गरेको बताउँदेै प्रजिअ कुरुम्वाङले जिल्ला बाहिरका धेरै कोरोना संक्रमितले बाँकेबाटै सेवा पाएको बताए । सबैको सहकार्यमा जिल्लामा उत्कृष्ट कार्य गर्न सफल भएको बताउँदै उनले दोस्रो चरणको खोप अभियानमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोग गर्नआग्रह गरेका छन् ।

 

त्यस्तै पहिलो चरणको खोप लगाएका  व्यक्तिका लागि  २८ दिनको फरकमा खोप लगाउने नेपाल सरकारको पहिलेको प्रावधान भएता पनि दुईदेखि तीन महिनाको फरकमा खोप लगाए प्रभावकारी हुने भएकाले पहिलो चरणको खोप लगाएका व्यक्तिका हकमा दोस्रो चरणको खोप वैशाखको ७ गतेदेखि १५ गतेसम्म लगाइने जानकारी दिइएको छ ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech