खासकुश्मालाई एम्बुलेन्स हस्तान्तरण

असल शासन प्रतिनिधि

शमशेरगन्ज/ खासकुश्मा स्वास्थ्य चौकीलाई शुक्रबार एउटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। एम्बुलेन्स नहुँदा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कुसुमवासीका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको हो । विगतमा गाउँठाउँमा एम्बुलेन्स नभएकै कारण सवारी दुर्घटना, गर्भवती एवम् गम्भीरखालका बिरामीले अस्पताल पुग्नु भन्दा अघि अकालमै ज्यान गुमाउन पुगेका घटना त्यहाँ घटेका छन् ।

उक्त समस्यालाई मध्यनजर गर्दै खासकुश्मा स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिइएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । ‘अस्पताल पुगे ज्यान बच्ने खालका व्यक्तिले एम्बुलेन्स अभावकै कारण अकालमै अब ज्यान गुमाउनु पर्दैन्,’ अध्यक्ष थारुले भने ।

शुक्रबार एक कार्यक्रमका बीच क्षेत्र नम्बर १ बाँकेका संविधान सभा सभासद देवराज भार र गाउँपालिका अध्यक्ष लाहुराम थारुले खासकुश्मा स्वास्थ्य चौकीका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष चन्द्रबहादुर ओलीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् । एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ दिएको छ भने बाँकी ८ लाख ५० हजार रुपैयाँ पूर्व सभासद् देवराज भारको समन्वयमा निर्वाचन सांसद विकास कोषबाट खर्च भएको छ ।
चाबी बुझ्दै वडा अध्यक्ष ओलीले वडावासीको स्वास्थ्य सेवामा सहज पहुँच भएको बताए ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech