स्वास्थ्य शाखा प्रमुखसहित ५ लाई बिदाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज–राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुखसहित एकैपटकमा पाँचजनालाई बिदाइ गरिएको छ । नेपाल सरकारको निजामति सेवाबाट अवकाश पाएका उनीहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।

अवकाश पाएर बिदाइ हुनेमा स्वास्थ्य शाखा प्रमुख विष्णु चुँडाली, महादेवपुरी स्वास्थ्य चौकीका इन्चार्ज गणेशबहादुर थापा, तीनजना विभिन्न स्वास्थ्य कार्यालयका सहयोगी क्रमशः मिट्ठु थारु, बलीराम थारु र मंगल थारु रहेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख जीवन न्यौपाने, योजना शाखा प्रमुख बालानन्द पौडेललगायतको उपस्थितिमा उनीहरुलाई गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बिदाइ गरेका छन् ।

उनीहरुलाई बिदाइ गर्ने क्रममा अध्यक्ष थारुले एक असल र कर्तव्यनिष्ठ कर्मचारीलाई बिदाइ गर्नु पर्दा दुःख लागेको बताए । कोरोना महामारीमा रातदिन नभनी स्वास्थ्य शाखाले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै अध्यक्ष थारुले उहाँहरुप्रति समग्र गाउँपालिका ऋणी रहेको बताउँदै अवकाश प्राप्त जीवन सुखमय बितोस् भन्ने कामना गरेका थिए ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech