३० वर्षे उत्साहजनक यात्रा: २०७ औं श्रृङ्खलामा ‘कोपिला’

साबित्री गिरी

नेपालगन्ज/जबसम्म आफूले आफैंलाई चिन्न सकिन्न, तबसम्म जीवनको लक्ष्य पूरा गर्न सकिन्न । आमजीवनमा कुरा गर्न जति सजिलो छ, त्यति नै ती कुरालाई व्यवहारिक पक्षमा उतार्न जटिल छ । जीवनको चाहना अनुरुप कार्य एवम् व्यवहार परिवर्तन गरे मात्र सफल भइन्छ भन्ने विश्वास गर्दै समाजमा छुट्टै परिचय बनाउन सफल शिक्षक तथा साहित्यकार हुन् कोपिला संग्रौला अधिकारी ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर —१० भृकुटीनगर स्थायी बसोबास भएकी कोपिलाले जीवनका ३० वर्ष शिक्षण यात्रामा उत्साहपूर्ण शैलीमा व्यतीत गरिसकेकी छिन् । बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको २०७ औं श्रृङ्खलामा आफ्नो सफलताको कथा सुनाउँदै उनले विद्यार्थीहरुले गर्ने माया र सम्मान नै ठूलो अवार्ड प्राप्त गरे सरह महसुस हुने गरेको बताइन् ।

बालबालिका समाजका गहना भएकाले उनीहरुको मनोभावना बुझेर वातावरण तयार गर्नु पर्ने उनको सुझाव छ । कोपिला भन्छिन्, ‘सबैभन्दा पहिले आफ्नो अवस्थालाई नियाल्नुपर्छ, अनि त्यहीँ अनुसार जीवनका गतिविधि अगाडि बढाउनु पर्छ ।’

संग्रौला शिक्षण पेसासँगै साहित्य क्षेत्रमा पनि उत्तिकै अग्रसर छिन् । उनको पहिलो कविता सङ्ग्रह “मदानी”२०७५  सालमा प्रकाशित भएको थियो भने अन्य कृति प्रकाशन गर्ने तयारीमा छिन् कोपिला ।


शिक्षणमा आवद्ध कोपिला कविता, गीत, मुक्तक, गजल र हाइकु लेख्ने गर्छिन् । पेसा र घरायसी कामबाट बचेको समय उनी साहित्यमा खर्चिन्छिन् । उनमा प्रेमको कोमल स्पर्श,  देशप्रति अनुराग र नारीहरुका समस्याप्रति चेतना रहेको पाइन्छ । व्यक्तिगत रुपमा सरल, सरस, मिलनसार र हँसमुख स्वाभावकी कोपिलाको सफलताको कथा सुन्दै गर्दा उपस्थित युवा निकै सालिन बनेका थिए ।

जीवनका भाव, राग, लय र संरचनादेखि आँसु–हाँसो, करुणा–रोदन र व्यंग्य जस्ता गुणबारे भविष्यका संवाहक युवालाई कोपिलाले मधुर शैलीमा देशप्रेमको गाथा सुनाएकी थिइन्  । देशप्रेमी भाव बोकेकी कोपिला भन्छिन्, ‘हाम्रो देशको हिमाल, पहाड, तराई , गाउँबेसी, मेलापर्व सबै प्रिय लाग्छन् । मलाई मेरो जन्मभूमिको माया औधी लाग्ने गर्छ । जीवन एउटा सुन्दर फूल हो ।’

जीवनलाई सुन्दर फूलको उपमा दिएकी कोपिलाको सफलताको कथा सुनेपछि इन्स्पाइरिङ्ग युथ कार्यक्रमक सहभागीले उनको दैनिकीबारे प्रश्न गरेका थिए । उनीहरुको प्रश्नको जवाफमा कोपिलाले आफ्नो कर्म आफैंले गर्नुपर्छ, अरुले गरिदेला भनेर सोच्नु हुँदैन भन्ने जवाफ दिइन ।

शिक्षाका माध्यमबाट समाजलाई उज्यालोतर्फ डोर्‍याइ रहेकी कोपिलाका रचनामा प्रेम, जीवन दर्शन, प्रकृति, नारी पीडा आक्रोश, नैतिकताको खोज, सत्यको आह्वान, राजनीतिप्रतिको वितृष्णा र आसा, सहअस्तित्वको खोजी, संस्कृतिप्रतिको मोह, भौतिक मोहमा विलय भइरहेको मान्छेभित्रको मानवताको खोजी आदि पक्ष भेटिन्छन् । सानैदेखि साहित्य रचना गर्ने कोपिलाको जीवनको लक्ष्य नै शिक्षक बन्नु रहेको थियो । उनी आफ्नो लक्ष्यमा सजिलै पुगिन् र समाजमा बेग्लै प्रभाव छाड्न सफल भइन् ।

विक्रम संवत् २०४७ सालदेखि निरन्तर शिक्षण पेसामा रमाइरहेकी कोपिला संवत् २०५१ सालदेखि नेपालगन्जस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएकी छिन् । उनका १ छोरा र १ छोरी छन् भने श्रीमान स्वास्थ्य क्षेत्रमा छन् । घरपरिवारको साथ र सहयोगले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी कोपिला साहित्यिक संस्था बार्दलीको सदस्यसमेत हुन् ।

अहिलेसम्म कहीँकतैबाट सम्मान नमिलेता पनि आत्मसन्तुष्टि नै सम्मान भएको उनी बताउँछिन् । पृथ्वीमा जन्म लिइसकेपछि केही न केही छाप छोड्नुपर्छ भन्ने उनको सोचाइ अहिले व्यवहारिक जीवनमा प्रमाणित हुँदै गएको छ । सबैको प्रिय ‘कोपिला’ नाम जस्तै सुन्दर मात्र होइनन् उनी जीवनको सार्थक परिचय दिन सक्ने साक्षीको रुपमा उभिएकी छिन् ।

२०२६ सालमा पाँचथर (मेची) मा जन्मिएकी कोपिलाको २०५१ सालमा धनगढीमा विवाह भएको थियो । पृथ्वीमा सुन्दर ढंगले पाइला चालेकी कोपिलाका मनभित्र हजारौं सपनाका कोपिला फक्रिएका छन्, जुन सबैका लागि प्रेरणादायी बनेका छन् । नाम अनुसारको काम गर्ने व्यक्ति एकदमै कम हुन्छन्, अनि कपितय कोपिला नफूलेरै ओइलाउँछन्, तर कोपिला सङ्ग्रौला अधिकारी सबैसामु सफल निष्पक्ष रुपमा फक्रिएकी छिन् । शिक्षक र सफल सर्जकका रुपमा परिचित बनेकी छिन् । कडा मेहनत र परिश्रमले उनलाई यहाँसम्म पुर्‍याएको जीवन कथा शुक्रबार इन्स्पाइरिङ्ग युथ कार्यक्रमको मुख्य आकर्षक बनेको आयोजक संस्था बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

बासले प्रत्येक हप्ता शुक्रबार इन्स्पाइरिङ्ग युथ कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्तर्गत पहिलो हप्ता विभिन्न विधाका प्रतियोगिता, दोस्रो हप्ता उत्प्रेरणात्मक प्रवचन,  तेस्रो हप्ता सफलताको कथा र चौथो हप्ता अनुभव आदान–प्रदान र कहिलेकाही पाँचौं हप्ता परे एकअर्कामा भएका ज्ञान आदान–प्रदान गर्दै आएको छ । कार्यक्रमले युवालाई नयाँ योजना बनाउन र सकारात्मक सोचका साथ अघि बढ्न उत्प्रेरणा प्रदान गर्दै आएको सहभागीले बताएका छन् ।

 

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech