बाँकेमा सवारी दुर्घटना भयावह

सवारीसाधनको तीव्र गतिः जीवनको क्षति

साबित्री गिरी

सवारी साधनको तीव्र गति देख्दा गन्तव्यमा सकुशल पुग्न सकिन्छ भनेर विश्वास गर्ने स्थिति अब छैन । पछिल्लो समय बाँकेमा सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने दिनप्रतिदिन बढेको देखिन्छ । यो डरलाग्दो सवारी दुर्घटनाका घटनाहरुले आम नागरिकमा त्रास पैदा हुँदै आएको छ ।

विभिन्न योजना बनाएर कामका लागि सकुशल हिँडेको व्यक्ति बेलुका घर पुग्छ कि पुग्दैन भनेर चिन्ता गर्नु पर्ने अवस्था सिर्जना भएको छ । फागुन महिनाको २० गतेसम्म ९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ७ जनाको मृत्यु भएको छ । यो अवधिमा ७ वटा मोटरसाइकल, २ वटा बस, ३ वटा ट्याक्टर, एउटा साइकल र १ ट्रिपर दुर्घटनामा परेको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेसँग छ । चालु आर्थिक वर्ष श्रावणदेखि फागुन २० गतेसम्मको तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय सवारी दुर्घटना संख्या पनि ह्वात्तै बढेको पाइन्छ । श्रावणदेखि अहिलेसम्म १ सय ५ वटा सवारी दुर्घटना भएका छन् । जसमा सबैभन्दा धेरै भाद्र महिनामा २० वटा सवारी साधन दुर्घटनामा परेका छन् । त्यसैगरी असोज महिनामा १९, मंसिरमा १५, माघमा १३, पुष र फागुनमा १०÷१० र श्रावणमा ६ वटा सवारी दुर्घटना भएका छन् । यो अवधिमा गम्भिर घाइते ५४ जना भएका छन् भने सामान्य घाइते ७२ जना भएका छन् । गन्तव्यमा नपुग्दै बीच बाटोमै दुर्घटनामा परेका व्यक्तिहरुको यो संख्याले आम जनमानसमा त्रास बढाएको छ । कतिबेला के हुने हो भन्ने स्थितिको सृजना भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजु भण्डारीका अनुसार तीव्र गति, चालकको लापरबाही, समयमा सवारी साधन सर्भिस नगर्नु, ट्राफिक नियमको पालना नगर्नु र ओभरटेकका कारण सवारी दुर्घटना बढ्ने गरेको छ । यसका लागि दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सवारी दुर्घटना न्यूनीरकणका लागि सडकका विभिन्न क्षेत्रमा सचेतनामूलक सङ्केत राखिएता पनि सवारी चालकले हेक्का नराखी मनपरी सवारी चलाउँदा चुनौती थपिएको उनको भनाइ छ ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech