बिथोलियो अभ्यास अदालत उद्घाटन

इजलास निर्माण खर्च सार्वजनिक गर्न माग

असल शासन प्रतिनिधि

नेपालगन्ज / महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा निर्माण भएको अभ्यास अदालत (इजलास) निर्माणमा अनियमितता भएको भन्दै खर्च सार्वजनिक गर्न माग गरिएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस संयुक्त विद्यार्थी संगठनले फागुन २१ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो निर्माणमा कमसल सामाग्री प्रयोग गरी रकम अनियमिता गरेको भन्दै तत्काल छानबिन गर्न माग गरेका छन् ।
अभ्यास अदालत निर्माणको हिसाब किताब सार्वजनिक गर्न पटक–पटक माग गर्दा पनि बेवास्ता गरिएको विज्ञप्ति उल्लेख गरिएको छ । खर्च सार्वजनिकको माग गर्दा बेवास्ता गरी विद्यार्थी संगठनलाई जानकारी नै नगराई शुक्रबार अभ्यास अदालतको उद्घाटन गरिएको प्रति विद्यार्थीहरु थप आक्रोशित भएका छन् ।

उद्घाटन कार्यक्रमको क्याम्पस प्रशासन र विद्यार्थी संगठनलाई जानकारीसमेत नगराई चोर बाटोबाट उद्घाटन गरिएको प्रति असहमति प्रकट गर्दै सम्बन्धित निकायलाई खर्च विवरण छानबिन गर्न,  रकम हिनामिनामा संलग्न निर्माण समितिलाई कारबाही गरी सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा औपचारिक उद्घाटन गर्न माग गर्दछौं संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उद्घाटन कार्यक्रमका सहभागिहरु
अखिल क्रान्तिकारीका संयोजक कमल प्रसाद अधिकारी, राप्रविसंघका अध्यक्ष निराजन नरसिंह राणा, नेविसंघका अध्यक्ष चन्द्र प्रकाश देवकोटा, अनेरास्वियूका संयोजक ध्रुब राज जोशी र अनेरास्वियू प्रतिनिधि प्रकाश बिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको माग प्रति बेवास्ता गरिए चरणबद्ध आन्दोलत गर्ने चेतावनी दिइएको छ ।

उद्घाटन कार्यक्रम समापन नहुँदै बिथोलियो

महेन्द्र बहुमुखी क्याम्पसमा फागुन २१ गते (शुक्रबार) अभ्यास अदालत (इजलास) को उद्घाटन कार्यक्रम समापन नहुँदै बिथोलिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कानुन संकायका डिन प्राध्यापक डा. विजय सिंह सिजापतीले बोल्दै गर्दा कार्यक्रम स्थल पुगेका विद्यार्थी नेताहरुले विरोध गरेपछि समापन नहुँदै कार्यक्रम बिथोलिएको हो ।

अभ्यास अदालत निर्माण समितिका अध्यक्ष कानुन संकायका आंशिक प्राध्यापक खड्कबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको भए पनि विद्यार्थीहरुले कार्यक्रमप्रति असहमति जनाएर नाराबाजी गरेपछि अध्यक्षले कार्यक्रम समापन गर्न पाएनन् । रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका प्रमुख अतिथिले समेत होहल्लाका बीच जबरजस्ती मन्तब्य राखेको कार्यक्रममा सहभागी एक विद्यार्थीले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने विद्यार्थी संगठनले विरोध गरिरहे प्रमुख अतिथि बोलिरहे उनले बोलेको कुरा केही सुनिएन् ।

उद्घाटन कार्यक्रम औपचारिक रुपमा समापन नहुँदै बिथोलिएपछि उद्घाटन भएको मान्न नसकिने सहभागीले बताएका छन् । अभ्यास अदालत निर्माण कार्य सम्पन्न भएपछि सो स्थानमा राखिएको सिलालेख उद्घाटन अगावै तोडफोड भएको बुझिएको छ । शिलालेख कहिले, कसले र किन तोडफोड गर्‍यो भन्ने बारेमा कसैलाई जानकारी छैन । अहिले आधा तोडिएको सिलालेख देख्न सकिन्छ भने तोडिएका केही टुक्राहरु कार्टुनमा राखिएका छन् ।

अभ्यास अदालत निर्माणका लागि बाँके क्षेत्र नम्बर २ का संघीय सांसद माननीय इस्तियाक राईको संसदीय विकास कोष मार्फत् १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मै कार्य सम्पन्न भइसकेको भए पनि कोभिडलगायतका कारण उद्घाटन कार्यक्रम हुन सकेको थिएन् ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech