सामुदायिक मेलमिलापकर्ताको भूमिका प्रशंसनीय

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सामुदायिक मेलमिलापकर्ताको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बुधबार नेपालगन्जमा सम्पन्न सामुदायिक मेलमिलापकर्ता समाज नेपाल बाँके शाखाको १०औँ साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

साधारण सभामा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले समाजमा हुने विभिन्न विवादलाई समुदायस्तरमै मेलमिलाप गरी समाधान गर्न सामुदायिक मेलमिलापकर्ताको भूमिका महत्त्वपूर्ण भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले पीडित पक्षले न्यायका लागि अड्डा अदालत, प्रहरी प्रशासन धाउनुपर्ने अवस्थाको विकल्पको रुपमा सामुदायिक मेलमिलापकर्ताको कार्य प्रशंसनीय भएको बताए । न्याय खोज्न अदालतसम्म जाँदा एक पक्षको जित र एक पक्षको हार हुने बताउँदै सामुदायिक मेलमिलापकर्ताले दुवै पक्षको जित–जितको अवस्था सिर्जना हुने गरी समुदायमै मेलमिलाप गराउने गरेको शाहको भनाइ थियो ।

कार्यक्रममा सामुदायिक मेलमिलापकर्ता समाज नेपाल बाँके शाखाकी अध्यक्ष भूमिसरा धितालले सामुदायिक मेलमिलापकर्ताको कारण धेरै पीडितहरुले न्याय पाएको बताइन् । पछिल्लो समय स्थानीय तहको न्यायिक समितिको भूमिकालाई सहज बनाउने कार्यमा समेत मेलमिलाकर्ताको भूमिका महत्त्वपूर्ण रहेको धितालको भनाइ थियो ।

कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्थानीय सरकारका जनप्रतिनिधिहरुले गर्ने काममा समेत मेलमिलापकर्ताहरुले सहयोग गर्ने गरेको बताउँदै स्थानीय सरकारले उनीहरुको उचित मूल्याङ्कन गर्नुपर्ने बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विद्याराम वर्मा, जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश अहिर, बासका निवर्तमान अध्यक्ष मन भण्डारीलगायतले सामुदायिक मेलमिलापकर्ताको कामको प्रशंसा गर्दै आगामी दिनमा अझैँ आफ्नो भूमिकालाई फराकिलो बनाउनु पर्ने बताएका थिए ।

समाजका अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको साधारणसभामा समाजकी सचिव सुमित्रा भण्डारीले आ.व. २०७६/०७७ को प्रगति प्रतिवेदन तथा आ.व. २०७७/०७८ को कार्ययोजना प्रस्तुत गरेकी थिइन् । समाजका जिल्ला संयोजक शिवकुमार वर्माले सञ्चालन गरेको कार्यक्रममा बाँकेको नेपालगन्ज, जानकी, खजुरा, बैजनाथ, डुडुवालगायतका स्थानीय तहका सामुदायिक मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech