पुलिस र एपीएफलाई सफलता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / पीएम कप महिला भलिवल प्रतियोगितामा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले जित हासिल गरेको छ ।
नेपालगञ्जको रंगशालामा शनिवार सम्पन्न सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफले त्रिभुवन आर्मी क्लब र पुलिसले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो । पहिलो खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २६–२४ ले जिते पनि त्यसपछि आर्मी तीन सेट लगातार पराजित भयो । एपीएफले २५–२३, २५–१६ र २५–२३ मा आर्मीलाई पराजित गरेको थियो ।
पहिलो खेलमा एपीएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई अन्तर्राष्ट्रिय रेफ्री अजित शर्मा र वेष्टर्न अस्पतालका निर्देशक राहुल थापाले पुरस्कृत गरे । दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित ग¥यो । पुलिसको यो दोस्रो जीत हो । जीतसँगै पुलिस लिगको शीर्ष स्थानमा पुगेको छ । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ ले पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन पुलिसको अगाडि लुम्बिनी कमजोर देखिएको थियो ।
खेलमा पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच भइन् । उनलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी र इन्टरनेट प्रदायक कम्पनी भायोनेटका शाखा प्रमुख भानु रेग्मीले पुरस्कृत गरे ।
लुम्बिनीका प्रशिक्षक भीम डाँगीले सेट अभ्यास बिना नै आएपनि प्रतियोगितामा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताए । लुम्बिनीमा रुपन्देही, दाङ र बाँकेका खेलाडी छन् । पुलिसका प्रशिक्षक रुपेश विष्टले लुम्बिनी अलि कमजोर टीम भएकाले नयाँ खेलाडीलाई मौका दिएको बताए ।
प्रतियोगितामा आइतबार लुम्बिनी युनाइटेड विरुद्ध एपीएफ तथा न्यू डायमण्ड विरुद्ध आर्मीको खेल हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टिमले दुई लाख, तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् ।

 

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech