बादी युवाहरुको राष्ट्रिय सम्मेलन सुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बादी समुदायका युवाहरुले आत्मसम्मानपूर्ण तवरले सामाजिक जीवन यापन गर्न नपाएको गुनासो गरेका छन् ।

उनीहरुले आज देखि नेपालगञ्जमा शुरु भएको प्रथम राष्ट्रिय बादी युवा सम्मेलनमा सो कुरा गुनासो गरेका हुन् ।

कमिट नेपालको आयोजनामा आज देखि शुरु भएको तीन दिने सम्मेलनको उद्घाटनमा उनीहरुले मानव भएर मानवले पाउनु पर्ने व्यवहार आफुहरुले नपाएको दुःखेसो उनीहरुको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बादी सञ्जालका संयोजक केशव नेपालीले बादी समुदायलाई राज्य पक्षले किनारा लगाएको बताए । उनले सिप, कलाको धनी बादी समुदायलाई बेश्याबृत्ति गर्ने जातको रुपमा अथ्र्याएर जवरजस्ति बहिष्कृत गरिरहेको बताए ।

राष्ट्रिय बादी युवा सञ्जालकी संयोजक देबिसरा बादीले नेपाली नागरिक भएर नेपाली नागरिकता प्राप्त गर्नका लागि नाङ्गिएर आन्दोलन गर्न बाध्य हुनु बिडम्बना भएको बताईन् ।

दलित गैसस महासंघका पूर्ब अध्यक्ष दलित अधिकारकर्मी, गजाधर सुनारले छुवाछुतजन्य व्यवहारबाट दलितबर्ग प्रताडित भएको बताए ।
ईन्सेकका कार्य समिति सदस्य, अधिकारकर्मी शोभाकर बुढाथोकीले मान्छे भएर मान्छेको रुपमा बाँच्न नपाउने समस्याबाट दलितहरु जेलिनु परेको बताए ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले बादी समुदाय समाजबाट अपहेलित हुनुका साथै राज्यबाट पाउनु पर्ने सेवा, सुविधाबाट बञ्चित हुनु परेको बताए । उनले अव अधिकार मागेर होईन, खोसेर लिने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीबास्तवले ऐन, कानुनमा भएको व्यवस्था कार्यान्वयन गरे जातिय समस्याको समाधान हुने बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले जातिय छुवाछुत सामाजिक अपराध भएको बताए ।
कार्यक्रममा थर्ड एलाईन्स नेपालगञ्जका प्रमुख आलम खान, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहतराज, डिएनएफ बाँकेका कोषाध्यक्ष मोहनलाल सोनखर, राष्ट्रिय बादी युवा सञ्जालका महासचिव शुरेश नेपाली लगाएतले बोलेका थिए ।

सामाजिक न्याय, शैक्षिक तथा व्यवसायिक उत्प्रेरणा भन्ने नाराका साथ शुरु भएको सम्मेलन फाल्गुण २५ गते सम्म चल्नेछ । कमिटका सचिव जगदिश नेपालीले सञ्चालन गरेको कार्यक्रम नेपालगञ्ज स्थित होटल ईन्द्रेणीमा भईरहेको छ । कार्यक्रममा लुम्विनी, कर्णाली र सुदुरपश्चिमका १० वटा जिल्लाका सय बढि युवाहरुको सहभागिता रहेकोछ ।

 

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech