आइलाग्ने माथि जाइलाग्न मानसिक तथा शारीरिक रुपमा तयार: महिला तथा किशोरी

साबित्री गिरी

नेपालगन्ज / जागिरका सिलसिलामा धेरैपटक नेपालगन्ज र पोखरा आउजाउ गर्थें । कहिले पूर्वका जिल्ला त कहिले पश्चिमका जिल्लामा पुगिरहनु पर्थ्यो । त्यतिबेला कसैले जिस्काउँदा पनि नदेखेको जस्तै गरी हिँड्ने गर्थे‌ ।

एकदिनको कुरा हो बसमा यात्रा गरिरहेकी थिएँ । यात्राका क्रममा राति भयो । मलाई नराम्रो नजरले हेर्ने व्यक्तिविरुद्ध आवाज दिन सफल भएँ र सुरक्षित भएँ । यस्ता घटनालाई धेरैपटक प्रतिकार गरेको बताउने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोका माया थापा राना मगरको आत्मविश्वास अहिले दोब्बर भएको छ । अब डराएर होइन निर्धक्कसँग यात्रा गर्न सक्ने भएको उनले बताइन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगन्जमा किशोरी तथा महिलाका लागि प्रदान गरिएको आत्म सुरक्षा तालिममा सहभागी भएपछि उनको आत्मविश्वासमा वृद्धि भएको बताइन् ।

यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २  बाँकेकी स्वस्तिका खत्री नेपालगन्जस्थित मेहन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् । उमेर २२ वर्ष बताउने स्वस्तिकामा हिंसालाई बेवास्ता गर्नु हुँदैन भन्ने सिकाइ भएको बताउँछिन । गाडीमा यात्रा गर्दा होस् वा बाटोमा हिँड्दा  जिस्काउने र दुव्र्यवहार गर्न खोज्नेलाई अब कडा जवाफ दिन शारीरिक र मानसिक रुपमा तयार रहेको बताइन् ।

यस्तो आत्मबल बर्दिया डाँफेका सावित्री विकलाई पनि बढेको छ । आत्मरक्षा तालिमपश्चात् गाउँ–घर र  समाजमा हुने हिंसाविरुद्ध आवाज उठाउने उनले बताइन् । पारिवारिकदेखि समाजिक हिंसाविरुद्ध अब चुप नलागि प्रतिकार गर्न आफू सक्षम भएको उनले बताइन् ।

महिलाको सुरक्षा, सम्मान र रोजगार: सम्बृद्ध नेपालको आधार भन्ने मूल नारासाथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सो तालिम गरिएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको तालिमको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका वरिष्ठ प्रहरी उपरीक्षक किरण रानाले उद्घाटन गरेकी थिइन् ।

आइतबार आयोजना गरिएको तालिम समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शमशेर राणा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना,  नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, तालिमका मुख्य प्रशिक्षक निरज न्यौपाने, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कारलगायतले तालिमबारे आआफ्ना धारणा राखेका थिए ।

तालिममा साढे ३ सय बढी महिलाको सहभागिता रहेको थियो ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech