महिलाको पहुँच सहज बन्दैः सम्झना दर्लामी

असल शासन प्रतिनिधि

राप्तीसोनारी– १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दर्लामीले बताइन् ।

प्रमुख दर्लामीका अनुसार स्थानीय सरकार आइसकेपछि महिलाको पहुँच सबै क्षेत्रमा सहज भएको महसुस गर्न सकिन्छ । पहिले गाउँघरमा हुने महिला हिंसा, महिला भएकै कारण थिचोमिचोमा बस्नु पर्ने अवस्था नरहेको बताइन् । यस्तो अवस्था सिर्जना हुनुमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको उनले बताइन् । स्थानीय सरकारमा रहेको महिला तथा बालबालिका शाखाले गाउँघरमा हुने महिला हिंसालाई स्थानीय स्तरमै सुल्झ्याएर महिला अधिकारबारे ज्ञान एवम् परामर्श दिइने हुँदा पनि राप्तीसोनारी गाउँपालिकाको हकमा महिला हिंसा सम्बन्धीका गम्भीर खाले घटना नघटेको बताइन् ।

गाउँघरमा रहेका महिलालाई लक्षित गरेर विशेष अभियानसाथ महिला अधिकारबारे कदम चालिएता पनि छिटफुट रुपमा लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितताको पहुँचबाट केही महिला वञ्चित रहेका हुन सक्छन् । तर समग्रमा हेर्दा पहिले र अहिलेको तुलनामा धेरै फरक आएको दर्लामीको भनाइ रहेको छ ।

यसैबीच गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीको संयोजकत्वमा सरोकारवालाहरुको संयुक्त बैठकले महिला लक्षित हाजिरी जवाफ प्रतियोगिता र कुर्सी दौडको आयोजना गरेको छ ।  उक्त अवसरमा र्‍याली तथा झाँकीसमेत प्रदर्शनलगायतका कार्यक्रमहरु गरिएको थालिएको उनले बताइन् ।

 

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech