किन सेलायो बाँके ट्राफिक प्रहरी ?? (तस्बिरसहित)

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पार्किङ व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गरेको प्रयास सफल हुन सकेको छैन । फागुन ९ गतेदेखि बाँकेको जिल्ला प्रशासन कार्यालय, भेरी अस्पताल अगाडि हुँदै चारबाहिनी चोकसम्म जथाभाबी पार्किङ गर्नेविरुद्ध सशक्त रुपमा अभियान थालेको ट्राफिक प्रहरी भने अहिले मूकदर्शक बनेको छ । आँखै अगाडि भएको अव्यवस्थित पार्किङलाई ट्राफिक प्रहरीले टुलुटुलु हेरिरहेको देखिन्छ !

जथाभाबी पार्किङ गर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याएर जरिवाना तिराउँदा समेत स्थानीयले सोही स्थानमा पार्किङ गरेपछि जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकासँग पार्किङ व्यवस्थापनबारे समन्वय गरिरहेको ट्राफिक प्रहरीले बताएको छ ।
अति व्यस्त रहने अस्पताल रोडमा मनपरी पार्किङ गर्दा पैदल यात्रु तथा सडकमा ओहोर दोहोर गर्ने नागरिकसँगै सवारी चालकलाई पनि समस्या भएको छ । साघुँरो सडकका कारण दुर्घटनाको जोखिम बढेको छ ।

बढ्दो दुर्घटनाको जोखिम कम गर्न प्रयासरत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख राजु भण्डारीले बताए । उनले नेपालगन्ज उपमहानरपालिकाले पार्किङ स्थल निर्माण गर्ने बताएको र सोही अनुसार आगामी योजना अगाडि बढाइने उनले जानकारी दिए ।
यस अघि जिल्ला प्रशासन कार्यालय, भेरी अस्पताल अगाडि हुँदै चारबाहिनी चोकसम्म जथाभाबी सवारीसाधन पार्किङ गरेर अस्तव्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech