मालपोत अगाडि प्रहरीको सेटिङ !

असल शासन प्रतिनिधि

कामको सुरुवात गर्नु मात्रै ठूलो कुरा होइन त्यसलाई निरन्तरता दिनु महत्वपूर्ण हुन्छ । कुरा बाँके, नेपालगन्जस्थित अति व्यस्त मालपोत कार्यालय र भेरी अस्पताल अगाडिको सवारी पार्किङको हो । म काम विशेषले सोमबार मालपोत कार्यालय बाँके गएको थिएँ । मालपोत अगाडि सवारी पार्किङ निषेध भन्ने कुरा मैले सुनेको थिएँ तर म त्यहाँ पुग्दा केही मोटरसाइकल पार्किङ गरेको देखें । मैले आफ्नो मोटरसाइकल नजिकै लगेर पार्किङ गर्न लाग्दा ट्राफिक प्रहरीको सिट्टी बज्यो, मैले तत्काल त्यहाँबाट टाढा लगेर आफ्नो स्कुटर पार्किङ गरें । मलाई त्यहाँ पार्किङ भइरहेका मोटरसाइकलको बारेमा जान्न जिज्ञासा लाग्यो र जानकारी हासिल गर्न केही समय त्यहाँ उभिई रहें । झन्डै १० मिनेट म त्यहाँ उभिँदा त्यहाँको सबै चर्तीकला अवगत भयो म तिनछक परें । नियमको अटेरी गरी मोटरसाइकल पार्किङ गर्नेलाई कारबाही गर्ने गरेकोमा ड्युटीमा रहेका प्रहरीले नियमसंगत भन्दा पनि आफ्नो व्यक्तिगत सेटिङमा सावारी छोड्ने गरेको प्रत्यक्ष देखें ।

मलाई त्यस्तो कार्यमा संलग्न ड्युटीमा रहेका ती ट्राफिक प्रहरीको नामसमेत राम्रोसँग थाहा छ तर पहिलोपटक म उनको नाम सार्वजनिक गर्न चाहँदैन । उनले गरेको त्यो कार्य उच्च अधिकारीको आदेशमा गरेका हुन् या आफंैले गरेका हुन् त्यस बारे भने म अनविज्ञ छु । मेरै आखाँ अगाडि प्रहरीले दुईवटा मोटरसाइकलबाट १००/१०० का दरले पैसा लिएर गोजीमा हाले र मोटरसाइकल पठाइ दिए ।

जे जसरी मोटरसाइकलबाट अवैध रूपमा पैसा असुली गरिँदै आएको छ त्यो कार्य कानुन विपरीत छ । त्यस्तो कार्य उपर सम्बन्धित निकायले निगरानी गर्नु पर्छ भन्ने मेरो भनाइ हो । अर्कोतर्फ दैनिक सयौंको संख्यामा रहेका मोटरसाइकलबाट रकम असुल गर्ने हो भने ड्युटीमा खटिने प्रहरीको गोजी अवैध रकमले सडकबाटनै भरिने पक्का छ । एक सेवाग्राहीको नाताले मैले उठाउन खोजेको कुरा के हो भने यदि नियम लागु हुन्छ भने त्यो सबैका लागि समान हुनु पर्दछ । यदि कारबाही हुन्छ भने त्यसबाट संकलित राजस्व सरकारी खातामा देखिनु पर्छ । पावर र पहुँच भएकालाई सेटिङमा छोड्ने र गरिब तथा निमुखाका लागि नियम कानुन लगाउने हो भने त्यो कदापि स्वीकार्य हुँदैन । पार्किङ निशेध स्वागत योग्य छ तर उपयुक्त विकल्पको खोजी गर्न जरूरी देखिन्छ । लागु गरेको नियम कतिको प्रभावकारी रूपमा कार्यान्वयन भएको छ भन्ने कुराको सम्बन्धित निकायबाट समय–समयमा निगरानी बढाउन जरूरी देखिन्छ ।

–एक प्रत्यक्षदर्शी

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech