राप्तीसोनारी–६ मा १५० बाख्रा वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ देशलाई मासुमा आत्म निर्भर बनाउँदै ग्रामीण भेगका महिलालाई व्यवसायीकरण गरेर आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेका कृषक महिलालाई बुधबार १५० बाख्रा वितरण गरिएको हो । उक्त बाख्रा ५ समूहका किसानलाई वितरण गरिएको हो । १ पकेट क्षेत्रमा ५ समूह, १ समूहमा १० किसानका दरले प्रति किसानलाई ३ वटा माउ बाख्रा वितरण गरिएको छ ।

किसानले पाएको बाख्रालाई दिन दुई गुणा रात चौगुनाको हिसाबले वृद्धि गर्दै लैजानु पर्नेमा कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले जोड दिएका छन् । अनुदानमा पाएको बाख्रालाई नै आयआर्जनको माध्यम बनाउन आग्रह गर्दै अध्यक्ष थारुले मासु उत्पादनका लागि ५० घरपरिवारले बाख्रा पाएकोमा खुसी लागेको बताए ।

संघीय सरकार र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा बाख्रा वितरण गरिएको बताउँदै गाउँपालिकाका पशु शाखा प्रमुख एवम् बाख्रा वितरण कार्यक्रमका अतिथि जयबहादुर कार्कीले साझेदारी बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत ९ लाख ९० हजार रुपैयाँ संघीय सरकारको र ९ लाख ९० हजार रुपैयाँ गाउँपालिका पशु सेवा शाखाको रहेको बताए । उक्त रकमबाट १५ लाख ८४ हजार रुपैयाँको बाख्रा खरिद गरिएको छ भने १० प्रतिशत अनुगमन, तालिम, गोष्ठी र प्राशासनिक खर्च, १० प्रतिशत नश्ल सुधार, औषधि उपचारमा र अन्यमा खर्च हुने प्रमुख कार्कीले बताए ।

साझेदारी बाख्रा प्रवर्द्धन कार्यक्रमका लागि गाउँपालिकामा अवस्थित सहकारीबाट प्रपोजन आह्वान गर्दा परेका प्रपोजलमा नयाँ सिर्जनशील सामाजिक महिला उद्यमी सहकारी संस्थाले कार्यक्रम पाएको थियो । संस्थाले आफ्नै रकमबाट ३ लाख ४१ हजार रुपैयाँ बराबरको गोठ तथा खोर व्यवस्थापनमा खर्च गर्ने बताएको छ ।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य पतरी दमाई, घरेलु तथा साना उद्योग महासंघ नेपालबाट प्रतिनिधित्व गरेकी मधु खड्का, हेफरका प्रतिनिधि, बीग्रुपका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत स्थानीयको सहभागिता रहेको थियो ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech