तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन

असल शासन प्रतिनिधि

नरैनापुर–बाँकेको नरैनापुरमा सार्वजनिक तथा तथ्यांक संलकनका लागि मोबाइल एप्लिकेशन सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बुधबार एक कार्यक्रमकाबीच उक्त मोबाइल एप्लिकेसन सार्वजनिक गरेका हुन् । ‘साक्षर पालिका नरैनापुर बनाउँछौं साक्षर छैन दूर’ मूल नाराका साथ तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन सार्वजनिक गरिएको हो ।

यसैबीच साक्षर तथा अभिभावक शिक्षा कार्यक्रमका गणकहरुलाई तथ्यांक संकलन सम्बन्धी १ दिने अभिमुखीकरण गरिएको छ । गणकहरुलाई डिजिटल प्रविधिबाट निरक्षर व्यक्तिहरुको तथ्यांक संकलन गर्न सक्षम बनाउने उद्देश्यले उक्त अभिमुखीकरण गरिएको हो । प्रत्येक वडा र प्रत्येक टोलबाट करिब ३० जना गणकको सहभागिता रहेको थियो ।

नेपाल उत्पीडित उत्थान विकास समाज बाँकेको सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, सशस्त्र प्रहरी निरीक्षक नरेश बाटा, शिक्षा अधिकृत कृष्णकुमार थारु, प्राविधिक सहायक कमल केसी, साक्षर अभियन्ता पेशकार सिंह र कम्प्युटर इन्जिनियर नवीन थापालगायतको उपस्थिति रहेको थियो ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech