नेपालगन्ज/ महाशिवरात्रिका अवसरमा विहिबार बिहानैदेखि नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
शिवरात्रीका दिन बागेश्वरीम मन्दिर परिसरमा रहेको जुंगे महादेवको दर्शन गर्न भारतबाट समेत दर्शनार्थीहरु आउने गर्छन ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।
बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ ।
चतुर्दशी तिथि भोलि दिउँसो २ः५१ बजेसम्म छ ।मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।