नेपाली सेना दिवस: के छ त वीरताको गाथा ?

असल शासन प्रतिनिधि

बाँके/ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइरहेका छन ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष हुने गर्छन । काठमाडौँमा गत वर्ष तीन–तीन हजार ६०० को सङ्ख्यामा सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी रहेकामा यस वर्ष कोभिड–१९ का कारण त्यो सङ्ख्या कटौती गरी दुई हजार ४०० मा सीमित तुल्याइएको छ ।
सेना दिवसका उपलक्ष्यमा दिपावली गर्ने, वीरगति प्राप्तका सम्मानमा वीर स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गर्ने, वीरगति प्राप्त सैनिकका एकल महिला तथा घाइते सैनिकलाई आमन्त्रण गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

सेनाको इतिहास

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो ।

राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्गठनिकस्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल चौथो स्थानमा छ । नेपालले संयुक्त राष्ट्रसङ्घलाई आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा एकै पटक शान्ति सैनिक पठाउनसक्ने प्रतिबद्धता जनाइसकेको छ ।

 

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत नेपाल पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक गम्भीर घाइते छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ८७ महिला सैनिकसहित पाँच हजार १३९ हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् ।

वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कैयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश दू्रतमार्गको आम भइरहेको छ ।

दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ ।–

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech