सेवाग्राहीमैत्री बन्दै यातायात व्यवस्था कार्यालय

हेमराज भट्ट

बाँके / सेवाग्राहीलाई महसुश हुने गरी यातायात व्यवस्था कार्यालय बाँकेले सेवा प्रवाहमा सुधार प्रयास थालेको छ ।

यातायात व्यवस्था कार्यालय भन्ने वित्तिकै आम नागरिकमा आउने नकारात्मक सोचलाई परिवर्तन गर्न कार्यालयले सुधारका कामहरु थालेको जनाएकोछ ।

कार्यालयको आफ्नो सेवा प्रवाहलाइ चुस्त दुरुस्त र सेवाग्राही मैत्री बनाउन विभिन्न सुधारका कामहरुलाई अगाडी बढाएको जनाएकोछ ।

कार्यालय श्रोतले दिएको जानकारी अनुसार कार्यालयमा सबै भन्दा बढी समस्याको रुपमा रहेको अभिलेखिकरणको कामलाई चुस्त दुरुस्त बनाउन कार्यालयका सम्पूर्ण जिर्ण अवस्थामा रहेका सवारी दर्ता तथा लाइसेन्सका अभिलेख ढड्डाहरु वाईन्डिङ्ग गरी अभिलेखलाई सुरक्षित र खोजेको बखत प्रात्त हुने गरी व्यवस्थित गरिएकोछ भने सवारी फाईललाई बर्णानुक्रममा मिलाएर सेवाग्राहीमैत्री बनाईएको छ ।

कर्मचारीलाई कार्यालयको सबै काममा परिचित र अब्बल बनाउन तिन तिन महिनामा फाँट र भूमिका परिवर्तन गर्ने गरि व्यवस्थापन गरिएको छ ।

उता कार्यालयले लिने सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षालाई मर्यादिन बनाउन परिक्षा स्थलका लागि मापदण्ड निर्धारण गरि कार्यान्वयनमा ल्याइएको छ ।

कार्यालयको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको राजस्व भुक्तानी गर्दा हुने अस्वभाविक भिडलाई व्यवस्थित गर्न बैंक काउन्टरमा २०७७ भाद्र देखि टोकन प्रणाली लागु गरिएको छ भने बैंक काउन्टरको विकल्पको रुपमा कनेक्ट आईपिएस सफ्टवेयर मार्फत फागुन १५ गते देखि राजस्व भुक्तानी प्रणालीको शुरुवात गरिएको छ ।

सवारी कर तिर्न यस्तो प्रणाली जडान गर्ने यातायात कार्यालय बाँके पहिलो कार्यालय रहेको जनाएको छ । यसैगरी कार्यालयले स्मार्ट कार्डको वितरण कार्यलाई चुस्त र दुरुस्त बनाउन लाईसेन्स वितरण सूचना व्यवस्थापन प्रणाली (एलडिएमआईएस) पौष २५ गते देखि लागु गरेको छ । यो प्रणाली उपत्यका बाहिर पहिलो पटक बाँकेमा शुरु गरिएको छ ।

यसैगरी कार्यालयको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन र सेवाग्राहीलाई सहयोग गर्न नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ ।

यातायात व्यवस्था कार्यालयको कामलाई प्रभावकारि बनाउन र आम नागरिकहरुको कार्यालय प्रतिको सोचमा परिवर्तन गर्न सुधारको प्रयास थालिएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताए । उनले कार्यालय सुधारको कार्यमा सबैले सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech