महादेवपुरी साना किसान कृषि सहकारीले मनायो रजत महोत्सव

असल शासन प्रतिनिधि

शमशेरगन्ज/ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरीले रजत महोत्सव मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम र सचेतनामूलक नाटक प्रस्तुत गर्दै संस्थाले २५ वर्षको अवसरमा शुक्रबार महोत्सव मनाएको हो ।

महोत्वसमा बोल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघका संचालक देव बहादुर केसीले सहकारीले देशमा विद्यमान बेरोजगारी र गरिबी निवारणमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए । उनले सहकारीलाई निरन्तर संचालन गर्न सकेमात्र शेयर सदस्यहरुको समृद्धि हुने भन्दै अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यको जीवन संचालनको गतिलो माध्यम भएको बताए । कृषि सहकारीलाई बजारीकरण र प्रशोधनमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती भएको भन्दै केसीले नेपाल सरकारले यान्त्रीकरण र सामग्री खरिदमा सहजीकरण गरिदिनु पर्ने आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीबाट व्यवसाय सञ्चालन गर्नका लागि कर्जा प्रवाह गर्ने सहज र सजिलो माध्यम भएको बताए । शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक समस्यालाई समाधान गर्दै जीवनस्तर उकास्नेतर्फ संस्था लाग्नु पर्नेमा उनले जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै साना किसान लघुवित्त वित्तीय संस्था लि. नेपालगन्जका इलाका प्रमुख गणेश भट्टराईले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

उक्त अवसरमा संस्थाका पूर्व स्थापक अध्यक्ष, सञ्चालक समिति, सदस्यहरु, लेखा समितिका सदस्यलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको छ भने संस्थाका अध्यक्ष देवबहादुर ओलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संस्थाका मुख्य प्रबन्धक हरिश चन्द केसीले सञ्चालन गरेका थिए ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech