डुडुवाको आठौं गाउँसभाः मुख्य आयोजनालाई प्राथमिकतासाथ अघि बढाइने

असल शासन प्रतिनिधि

डुडुवा/ बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन नीति, बजेट संशोधन र प्रगति प्रतिवेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ । विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेको ऐन र नीतिलाई पारित गरिएको हो ।

सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालु आर्थिक वर्ष २०७७।०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखा अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन तथा वातावरण र विकास निर्माणका योजनालगायतका बारेमा प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले बहुवर्षीय ठूला आयोजना अन्तर्गत राप्ती नदी पुलस्थित शिवको प्रतिमा निर्माण, कोल्ड स्टोर निर्माण, हलकारापुर्वा र राजारामपूर्वा बीचमा डुडुवा नालामा झुलुङ्गे पुल निर्माण, अमृतपूर्वादेखि रामनगर पाझासम्म पिसीसी सडक निर्माण र गाउँपालिकाको प्रशासकीय भवन निर्माण रहेका छन् । ती आयोजनालाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, कन्या मुद्दति खाता, स्वास्थ्य र पशु अन्तर्गत मुख्य कार्यक्रम संचालनको योजना रहेको छ ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech