हाकिमद्वारा सरकारी गाडी दुरुपयोग

ड्राइभिङ सिक्दा ६ महिनामै बिग्रियो नयाँ गाडी

असल शासन प्रतिनिधि

बाँकेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सरकारी गाडीको व्यापक दुरुपयोग गर्ने गरेका छन् । क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका समेत रहेको सो गाँउपालिकाका हाकिम नर बहादुर बिकले कार्यालय समय भन्दा बढी व्यक्तिगत प्रयोजनमा सवारी साधन गुडाउने गरेको रहस्य बाहिर आएको छ । गाउँपालिकाको कार्यसम्पादन सहज होस् भन्ने हेतुले केही महिना अगाडि मात्रै किनिएको नयाँ गाडीलाई प्रमुख प्रशासकीय अधिकृत बिकले आफूखुसी प्रयोग गर्दै आएका छन् । केही महिना अगाडि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका बिकले गाउँपालिकाको नयाँ गाडी प्रयोगमा ल्याएको तर गाउँपालिकामा भने निकै कम मात्र हाजिर हुने गरेको श्रोत बताउँछ ।

प्रमुख प्रशासकिय अधिकृत नियमित कार्यालय नआउँदा आम गाउँपालिकावासीमा बढेको असन्तुष्टि तब बाहिर आयो जब व्यक्तिगत कामका लागि प्रमुख प्रशासकीय अधिकृत बिकले गाउँपालिकाको गाडी लगेर झण्डै १५ दिन संघीय राजधानी काठमाडौंमा बिताए । उनी लामो समय गाउँपालिकाको गाडी लगेर व्यक्तिगत काममा लागेपछि गाउँपालिकाका जनप्रतिनिधिले अध्यक्ष समक्ष सो विषयमा असन्तुष्टि पोखेको श्रोतको दाबी छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत बिकले गाउँपालिकाको नयाँ गाडीबाट ड्राइभिङ्ग सिक्न थालेपछि गाडी बिग्रिएर अहिले ग्यारेजमा थन्किएको छ । गाडी किनेको वर्ष दिन नबित्दै बिग्रिएर ग्यारेजमा थन्किएपछि सो कुराको रहस्य उजागर भएको हो ।
हाल नेपालगन्जमा ग्यारेजमा मर्मतको क्रममा रहेको सो गाडीका लागि समेत ठूलो रकम खर्च हुने श्रोत बताउँछ ।
राप्ती सोनारी गाँउपालिका यस अघि नै दुईवटा गाडी सञ्चालनमा रहेका छन् भने आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यमा गाउँपालिकाले ४४ लाख ९५ हजार रुपैयाँमा उक्त गाडी खरिद गरेको थियो ।

प्रमुख प्रशासकिय अधिृकत बिक कार्यालयमा निकै कम मात्रै उपस्थित हुने र गाउँपालिकाको गाडीको प्रयोग व्यक्तिगत रुपमा गर्ने क्रम बढ्दै गएपछि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीसमेत हैरान छन् ।

यस्तै कार्यालयको गाडी दुरुपयोग गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत बिकको प्रतिक्रिया लिँदा यस अगाडिको प्रमुख प्रशासकीय अधिकृत माथि दोष थुपारिदिए । आफू कार्यालयमा हालसालै मात्र आएकाले गाडीको अवस्था पहिलेनै बिग्रिएको बताएर पन्छिए । उनले आफ्ना विषयमा आउने कुनै समाचारले आफूलाई प्रभाव नपर्ने समेत बताएका छन् । व्यक्तिगत प्रयोजनका लागि गाडिको प्रयोग समेत नगरेको उनले प्रतिक्रिया दिएका छन । नेपालगन्जका चर्चित एक पत्रकारले यस्तो समाचार आउँदैछ भनेर पहिलेनै प्रतिक्रिया दिएको बताउँदै उनले चित्त नबुझेको कुरामा सवाल जवाफ गर्न प्रत्यक्ष आउन सक्ने समेत बताए ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech