गीर्वाणमा सरसफाई र निसंक्रमण तालिम

असल शासन प्रतिनिधि

रुपन्देही / श्री गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिद्यालय तिलोत्तमाका प्रधानाध्यापक केदार नाथ पराजुलीले तालिमबाट सिकेको शिपलाई कार्यान्वयन गर्ने र गराउने प्रतिबद्धता गरेका छन् ।
बिद्यालयमा सरसफाई र निसंक्रमण बिषयक एक दिने अभिमुखिकरण तालिमको समापन कार्यक्रममा बोल्दै प्रधानाध्यापक पराजुलीले यस्तो प्रतिबद्धता गरेका हुन् । सामान्य जानकारीको भरमा यस अघि सुरक्षा सावधानी अपनाईरहेको बताउदै उनले तालिमबाट शिकेको क्लोरिन झोल बनाउने विधि बिद्यालयका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।


कोभिड १९ लगायतका संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका बिषयमा गरिएको अभिमुखिकरणमा सरसफाई र निसंक्रमणका बिषयमा शैद्धान्तीक तथा प्रयोगात्मक रुपमा सहजिकरण गरिएको थियो । सरसफाई र निसंक्रमण के हो, कोभिड १९ सर्ने माध्यम र रोगथामका उपाय, क्लोरिन झोल तयार गर्न प्रयोग हुने सामाग्री र बनाउने बिधि, क्लोरिन झोलको प्रयोग कहाँ कसरी गर्ने र कस्तो ठाँउमा संक्रमणको जोखिम रहन्छ लगायतका बिषयमा अभिमुखिकरण तालिम केन्द्रीत रहेको थियो । तालिमको क्रममा प्रयोगात्मक रुपमा क्लोरिन झोल तयार गरि त्यसको प्रयोगको विधिका बारेमा जानकारी गराईएको थियो ।
युनिसेफ नेपाल तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले रुपन्देहीमा फागुन २६ गते देखि २९ सम्म चार दिन सञ्चालन गरेको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी गतिविधि र जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुनः सञ्चालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमका सहभागिहरुले सो अभिमुखिकरणको सहजिकरण गरेका थिए । प्रशिक्षक प्रशिक्षण तालिमका प्रशिक्षक सुभाष केसीले सञ्चालन गरेको अभिमुखिकरणमा तालिमका सहभागि मुना बिष्ट, कमला सापकोटा, कौषल तिवारी, पवित्रा भण्डारी, नयन सिंह ठकुरी, विजय अधिकारीले सहजिकरण गरेका थिए । अभिमुखिकरण तालिममा श्री गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिद्यालय तिलोत्तमा, मणिग्राम रुपन्देहीका शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech