स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम

असल शासन प्रतिनिधि

खजुरा/ बहुक्षेत्रीय बृहत् पोषण योजना सम्बन्धी स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ७ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्वास्थ्य क्षेत्रमा राज्यले अरबौं लगानी गरेकोले सबै नागरिकले सुलभ सेवा पाउनु पर्ने बताए । उनले खजुरा राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने बताउँदै रणनीतिक रूपमा पोषण योजनालाई पनि बढाउनु पर्नेमा जोड दिए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले खजुरा पोषण कार्यक्रमको उपलब्धि हासिल गर्ने हिसाबले अगाडि बढ्ने बताए । उनले पोषणका लागि व्यवहार परिवर्तन गरिनु पर्नेमा जोड दिए ।

तालिममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, उपप्रमुख टीकामाया गुरुङ र वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकालले सहजीकरण र प्रशिक्षण दिनेछन् । पोषण सम्बन्धी बृहत् विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरी ज्ञान र सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका सुशील थापाले जानकारी दिए ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech