वैदेशिक रोजगारबाट फर्केका युवा भन्छन्–स्वदेशमैं कर्म गर्छाैंं

असल शासन प्रतिनिधि

कोहलपुर ⁄  वैदेशिक रोजगारबाट फर्किएका युवा र सरोकारवालाबीच कोहलपुरमा अन्तक्र्रिया गरिएको छ । बास र एकाउण्टबिलिटी ल्याबको आयोजनामा सो अन्तक्र्रिया सम्पन्न भएको हो ।

अन्तक्र्रियामा वैदेशिक रोजगारबाट फर्किएका युवाले सरोकारवालासँग हाकाहाकी प्रश्नोत्तर गर्दै अन्तक्र्रिया गरेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा युवाले स्वदेशमैं बसेर कर्म गर्न तयार रहेको उल्लेख गर्दै काम गर्ने आवश्यक वातावरण सृजना गर्न माग गरे ।

दुबईको वैदेशिक रोजगारबाट फर्केका गोविन्द बोहराले स्वदेशमैं बसेर कृषि गर्न खोजेको भन्दै कृषि गर्न आवश्यक सहयोगको अपेक्षा गरे । उनले तालिम, अनुदानबारे आवश्यक जानकारीबाट आफूहरु वञ्चित भएको गुनासो गरे ।

स्थानीय सरकारबाट आफूहरुले सीपमूलक तालिमको अवसर प्राप्त हुने अपेक्षा गरेको अर्का सहभागी मोतीलाल घर्ती मगरले बताए ।
वैदेशिक रोजगारबाट फर्किएर कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुनजंग शाहले वैदेशिक रोजगारबाट फर्केका युवाका लागि स्थानीय सरकारले ध्यान दिन नसकेको, उनीहरुको सीपको पहिचान गर्न नसकेको बताएका थिए ।

समाज सेवा संस्थाका विनोद थापा, रुम टु रिड संस्थाकी जोशिना थारु, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिक., डेक नेपालका जीवन गिरी, कोहलपुर नगरपालिकाका कृषि विकास अधिकृत निर्मल भुसालले वैदेशिक रोजगारमा नगई स्वदेशमैं बसेर कर्म गर्न सबैलाई आग्रह गरे ।

युवाका कुरा सुनिसकेपछि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सूचनासम्मको पहुँच स्थापित गरी स्थानीय सरकारबाट सेवा, सुविधा लिन युवालाई आग्रह गरे । उनले नगरपालिकाबाट कृषि, पशु सेवालगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । उनले वैदेशिक रोजगारबाट फर्केका युवाका समस्या समाधान गर्न आफू तत्पर रहेको बताए । महिला परोपकार मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपानेले लघुवित्त कार्यक्रममार्फत् कृषि गर्नका लागि बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सहुलियत ब्याज दरमा समूहलाई उपलब्ध गराउँदै आएको बताइन् । उनले संस्थाबाट महिलाहरुको आयआर्जनका लागि विभिन्न सहयोग गरेको जानकारी गराइन् ।
इन्रुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकायले सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श सेवा, विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा ३० जना बढीको उपस्थिति रहेको थियो ।

 

 

 

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech