‘विश्व उपभोक्ता अधिकार दिवस–२०७७’ बाट पत्रकारसहित ३ सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ‘विश्व उपभोक्ता अधिकार दिवस-२०७७’ बाट नेपालगन्जका पत्रकारसहित विभिन्न क्षेत्रमा क्रियाशील ३ व्यक्तिलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा पत्रकार अर्जुन ओली, अधिवक्ता बसन्त गौतम र व्यवसायी दिपेन्द्र श्रेष्ठ रहेका छन् ।

आम सञ्चारको माध्यमबाट उपभोक्ता शिक्षा र सचेतनाका लागि विभिन्न लेख, रचना र समाचार प्रकाशन–प्रशारण गरी उपभोक्ताको हकहित र अधिकार संरक्षणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नागरिक दैनिकमा कार्यरत पत्रकार ओलीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगरलगायतले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।

यसैगरी सोही कार्यक्रममा उपभोक्ता अधिकारका पक्षमा वकालत गरेको मूल्याङ्कन स्वरुप अधिवक्ता बसन्त गौतम र मापदण्ड पूरा गरी गुणस्तरीय बस्तु बिक्री वितरण गरेको भन्दै व्यवसायी दिपेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको हो ।

सो कार्यक्रममा नगर प्रमुख डा. राणा, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौड्याल, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख मोहन सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, सम्मानित व्यक्तिकातर्फबाट पत्रकार ओलीलगायतले मन्तव्य राखेका थिए ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech