एन्फा प्रेसिडेन्ट लिगः उद्घाटन खेलमा स्टार सिटी विजयी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिताको पहिलो दिनको खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब विजयी भएको छ । सोमबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी युवा क्लबको तर्फबाट रुपबहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले ३ मिनेट र ८१ मिनेटमा गोल गरेका थिए । दीपकसिंह ठकुरीले ४६ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बनेका लामालाई बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले नगद रु. ५ हजार सहित सम्मान गरे ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।  यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech