पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको ज्यान गयो

असल शासन प्रतिनिधि

 

बर्दिया/ बर्दियामा बाघ आक्रमणको घटना बढ्दै गइरहेको छ ।  पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको ज्यान गएपछि घटना स्थल वरपर त्रास बढेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले मारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मङ्गलबार दिउँसो रावतलाई बाँघले झम्टेर लगेपछि उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको हो । महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए ।

यसअघि फागुन २६ गते बर्दियाको मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

यस्तै फागुन १७ गते सामुदायिक वनमा भैंसी चराउन गएका बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय लालबहादुर थारुलाई बाघले आक्रमण गरि मारेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech