नजरभित्रको त्यो ढोरपाटन

उर्मिला गौतम

रुकुम पूर्व / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष सुन्दरताले भरिपूर्ण छ । आरक्ष वरिपरि रहेको घना जंगल, ठूला ठूला पाटन क्षेत्रहरु, र चारैतिर दन्ते लहर देखाएर हाँसेका ती मनमोहक हिमालहरु सौन्दर्यात्मक देखिन्छन् ।

प्राकृतिक सांस्कृतिक धार्मिक र सामाजिक रुपले भरिपूर्ण ढोरपाटन आफैंमा एक मग्नमुग्ध भएर विभिन्न चराचुरुङ्गी, पशुपंक्षी र जीवजन्तुहरुको सुसेलीमा मख्ख छन् । उचाइको हिसाबले समुद्र सतहबाट २८५६ देखि ७२४५ मिटरसम्म अग्लो रहेको सो क्षेत्र आफ्नै विशेषताले भरिपूर्ण छ ।

झट्ट हेर्दा कुनै मानव वस्तीहरु नभएको जस्तो देखिने उक्त क्षेत्रमा पाटनको चारैतिर छरिएर रहेका ती बस्तीहरुले स्वर्गीय अनुभूति दिलाइ दिन्छन् । स–साना ढुङ्गाहरु अनि काठले बनेका ती छाप्राहरुको बस्ती अनि तिनै बस्तीभित्र रहेका मानवहरुको पनि एक किसिमको विशेषता नै रहेको छ । झुल्के घामसँगै ठूला–ठूला डोकोहरुमा सोत्तर बोकेर हिँडेका ती आमा दिदी बहिनी अनि घोडाको बथानसँगै आफ्नो पेसामा लागेका बुवा दाजुभाइको खुसी पनि ढोरपाटनको सुन्दरतासँगै झल्किएको छ । वरिपरि कम्मर मर्काएर नाचेका जस्तै देखिने ती पहाडहरु अनि पहाडको खोचमै गोब्रेसल्ला, सल्ला, धुपी र देबदारुलगायतका वनस्पतिहरु, विभिन्न प्रजातिका लालीगुराँस, प्रकृतिको सुन्दरतालाई नियाल्दै भाका निकालिरहेका ती चराचुरुङ्गीका आवाज, पाटनको वरिपरि रहेका ती मानव बस्तीहरु अनि बीचैबाट बगेको स्वच्छ नदी ढोरपाटनका प्रमुख मनमोहक दृश्यहरु हुन् । नाउर, झारल, थार र हिमाली भालु यहाँका प्रमुख स्तनधारी जनावर हुन् भने नेपालमा दुर्लभ र संरक्षण गरिएका पन्छीमध्ये डाँफे मुनाल, चिरलगायतका १३८ प्रजातिका पन्छीहरु उक्त आरक्षमा पाइन्छन् ।


रुकुम पूर्व, बाग्लुङ र म्याग्दि गरि ३ जिल्लामा अवस्थित सो क्षेत्र २०४० सालमा स्थापना भै २०४४ सालमा सरकारी मान्यता प्राप्त गरी ढोरपाटन सिकार आरक्षको रुपमा कायम रहेको थियो । यहाँ अवलोकन गर्न आउने पर्यटकले अनुमति लिएर तोकिएको समय र क्षेत्रमा सिकार गर्न पाइने व्यवस्था गरिएको छ । ढोरपाटनको क्षेत्रमा रहेको उत्तरगंगा नदीको शिरैमा २२ वटा बाह्रैमास पानी आउने धाराहरु रहेका छन् । तिनै धारामा नुहाएर नजिकैको मन्दिरमा पूजा गर्दा आफूले चाहेको मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ । समग्रमा धार्मिक सांस्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण रहेको ढोरपाटन पछिल्लो समय पर्यटकको उत्कृष्ट रोजाइ गन्तव्यमा परेको छ । गत वर्ष कोरोनाका कारण केही प्रभाव परेता पनि पुनः पर्यटकको ओइरो लाग्दै गरेको त्यहाँका होटल व्यावसायीहरु बताउँछन् । अर्गानिक खाना मनमोहक दृश्य र स्वच्छ हावापानी भएकै कारण यहाँ घुम्न आएका पर्यटकहरु दुई चार दिन घुमेर मात्रै फर्कने गरेका छन् ।

ढोरपाटनबाट फर्किएपछिको यात्रा संस्मरण

 

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech