एन्फा प्रेसिडेन्ट लिगः स्टार सिटीको दोस्रो जित

असल शासन प्रतिनिधि

नेपालगन्ज– सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।  बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ । स्टारको तर्फबाट कुलदिप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र रुप बहादुर लामाले गोल गरेका थिए । सैनिकका जिवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम् कप्तान किशोर गिरी घोषित भए ।
सुदूरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोडन सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।
स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठुलो उपलब्धी भएको बताउँदै ललितले भने,‘हामी खुसी छौं झापाको टोलीलाई हराउन पाउँदा । झापा नेपाली फुटबलकै बलियो टोली हो । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’
मोफसलको टिमलाई एन्फाले प्रतियोगिता गरेर एउटा उत्कृष्ट सुरुआत गरेकोमा एन्फालाई प्रशिक्षक चन्दले धन्यवाद दिए ।
झापाका प्रशिक्षक संजय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए । उनले भने,‘हामीले यस प्रतियोगिताको लागि राम्ररी तयारी पनि पाएनौं । हाम्रो सिनियर खेलाडीले अन्य प्रतियोगिता खेलिरहेका कारण आज समस्या भयो ।’

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech