धम्बोझी र त्रिवेणीको जित

असल शासन प्रतिनिधि

नेपालगन्ज/लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहीबार जित हासिल गरेका छन् । बिहीबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–२ ले पराजित गरेको छ । बिहीबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ ।
यसैगरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टी मार्फत् ८८ मिनेटमा गोल गरेका थिए ।
धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टीमार्फत् ३७ मिनेट र मिकचेन तामाङले ९५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लम्जुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech