सिडियो र प्रशासकीय अधिकृत बताउने ठग पक्राउ

असल शासन प्रतिनिधि

सुर्खेत/ २७ वर्षीय दीपक बुढा कहिले आफूलाई सिडियो त कहिले प्रमुख प्रशासकीय अधिकृत भएको बताउथे । उनले सिडियो र प्रशासकीय अधिकृत नाममा धेरै व्यक्तिलाई ठगी गरेको आरोप लागेको छ । उनीबाट ठगिएकैमध्येकी नेत्रकुमारी पौडेलको जाहेरीको आधारमा बुढालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको आग्रहमा बुढालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका-२ डेढकुलाका बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । जुन नाम गरेको गाउँपालिका नै छैन । प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech