मूल्य र गुणस्तरको अनुगमन नियमित हुनु पर्छः टीआई नेपाल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धी दुई प्रतिवेदन सार्वजनिक गरेको छ । स्वास्थ्य क्षेत्रको सार्वजनिक खरिद प्रक्रियामा खुला करारलाई प्रश्रय दिन, सार्वजनिक खर्चमा जिम्मेवारीपन र पारदर्शिता प्रवर्द्धन गर्ने परियोजना सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दामोदर रेग्मी, विशेष अतिथि सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुबासचन्द्र शिवाकोटी, स्वास्थ्य व्यवस्थापन शाखाका निर्देशक डा. भीमसिंह तिन्करी, प्रमुख अनुसन्धानकर्ता तथा टीआई नेपालका पदाधिकारीले संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिवेदनमा मूलत संघीय व्यवस्थाका साथै बागमती र प्रदेश २ केन्द्रित यी अध्ययनले खुला करारको अभ्यासमार्फत् नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्वास्थ्य सेवा प्रदायक व्यवसायी, सरकारी निकाय र नागरिक समाजले आफ्नो भूमिका बढाउनु पर्ने कुरा इंगित गरिएको छ । त्यसैगरी सार्वजनिक सेवाको गुणस्तरमा वृद्धि हुनु पर्ने, मूल्य र गुणस्तरको अनुगमन नियमित हुनु पर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शितामा देखिएको कमीलाई सुधार्नुपर्ने जस्ता विषय प्रतिवेदनमा उठान गरिएका छन् ।

प्रतिवेदन उपर अनुसन्धानकर्ताबाट संक्षिप्त प्रस्तुति र कार्यक्रमका वक्ताहरुले उक्त विषयमा आआफ्ना धारणा व्यक्त गरेका थिए । स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खरिदमा पारदर्शिताकासाथै नियमन निकाय र नागरिक स्तरबाट समेत नियमित रुपमा खवरदारीको आवश्यकताबारे कार्यक्रममा चर्चा भएको थियो । कार्यक्रमको अध्यक्षता ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले गरेकी थिइन् ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech