एन्फा प्रेसिडेन्ट लिगः लेकाली र सैनिकबीचको खेल बराबरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक १ अंक जोड्दै खाता खोलेका छन् ।
नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भूपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
झापा प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी भएको बताए । उनले भने,‘सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनु पर्‍यो । खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नु पर्‍यो । त्यो भन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो ।’
दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्वल होनाले रोक्न सफल भएका थिए । खेलाडीहरु अन्य प्रतियोगिताको व्यस्त भएर पनि समस्या भएको प्रशिक्षक कटुवालले बताए ।
लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए । उनले भने,‘सूरुमा टिमका खेलाडीबिच एक अर्कामा राम्ररी परिचय पनि थिएन । कसले कस्तो खेल्छ भन्ने थाहा थिएन । पहिलो खेलमा धेरै गोलको सामना गरेपछि हामी रक्षात्मक रणनितिमा खेल्ने योजनामा थियौं । जुन सफल पनि भयो ।’
लेकालीका कप्तान संगम शाहीले टिमको समन्व मिल्दै गएकोले खेल सुधार हुँदै गएको बताए ।
शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबीच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर –२ को मनकामना युवा क्लब रौतहट र बागमति प्रदेशको धादिङ समाज (धादिङ) बीच प्रतिस्पर्धा हुनेछ ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech