एन्फा प्रेसिडेन्ट लिगः स्टार सिटी शीर्ष स्थानमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ । शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले धम्बोझीलाई ३–१ ले पराजित गरेको छ । जितसँगै लगातार तिन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तिन खेल्दै ९ अंक जोडन सफल भएको छ ।
शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।
जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको बताए । उनले भने,‘अहिले नै च्याम्पियन बन्न सहज त छैन । तर हामीले आज लिगको बलियो टोलीलाई हराएको छौं । हाम्रो बेन्च खेलाडी पनि बलियो भएको आज प्रमाणित भएको छ । यसले टिम थप बलियो भएको छ ।’
नयाँ र पुराना खेलाडीको समन्वय मिल्दै गएकोले टोली स्तर थप सुधार हुँदै गएको प्रशिक्षक चन्दले बताए ।
धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठ सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए । उनले भने,‘सुरुआतमै हामीले ‘सिल्ली’ गोलको सामना गर्न पर्‍यो । त्यसले टिमको रिदम बिग्रियो । हामीले लगातार तीन खेल गर्मीमा खेलेको छौं । त्यसले पनि खेलमा असर गरेको छ ।’
आफनो टोलीको तुलनामा बिपक्षीले शनिबार राम्रो खेलेको प्रशिक्षक रबिन्द्रले प्रतिक्रिया ।
प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेल प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट र प्रदेश नम्बर बागमति प्रदेशको धादिङ समाज धादिङबीच प्रतिस्पर्धा भैरहेको छ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech