युवासँग सहकार्य गर्न आतुर छुः अध्यक्ष कक्षपति

असल शासन प्रतिनिधि

नेपालगन्ज/खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वैदेशिक रोजगारबाट फर्किएका युवाका लागि मागमा आधारित तालिम तथा कार्यक्रमको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् ।

एकाउण्टबिलिटी ल्याब र बास नेपालगन्जको आयोजनामा बाँके जिल्लामा सञ्चालित सुरक्षित वैदेशिक रोजगार कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगार विषयक कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष कक्षपतिले यस्तो प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रममा सहभागी युवालाई अध्यक्ष कक्षपतिले भने,‘सहकार्य गर्न आउनुस् हामी सहयोग गर्न तयार छौं ।’ खजुरा गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरी मागमा आधारित सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउँदै तालिम आवश्यक भए तत्काल दिन सकिने बताए । गाउँपालिकाले कृषि क्षेत्रमा ठूलो परियोजना सञ्चालन गरिरहेको र सो परियोजनामा स्थानीय जनशक्ति परिचालन गर्ने भएकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई सो कार्यक्रममा जोडिन उनको अनुरोध थियो ।

उद्यम गर्न चाहने युवाका लागि सहुलियत पूर्ण कर्जा, सीपमूलक तालिम र अन्य आवश्यक सामाग्री गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतमले खजुरा गाउँपालिकाले युवाहरुलाई दिने अनुदान तथा कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । सरकारी प्रक्रिया केही लामो हुने भएकाले प्रक्रिय पूरा गरेर सरकारी सहुलियतको भरपुर प्रयोग गर्न युवाहरुलाई अनुरोध गरे ।
बासका संयोजक रविन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यशाला गोष्ठीमा सुरक्षित वैदेशिक रोजगार र गाउँपालिकाले गरिरहेका कामका विषयमा केन्द्रित रही गाउँपालिकाका योजना शाखा प्रमुख दिलबहादुर पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा सहभागी युवाहरुले वैदेशिक रोजगारबाट फर्किएपछि आफूहरुसँग सीप र केही पैसा भएपनि प्रक्रियागत कठिनाइका कारण सरकारी अनुदान तथा कार्यक्रमको उपयोग गर्न नसकेको दुखेसो गरेका थिए ।

कार्यशाला गोष्ठीको सुरुवातमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र सरोकारवालाबीच फागुन ८ गते खजुरामा भएको अन्तक्र्रिया कार्यक्रममा गरिएका प्रतिबद्धताहरुको समीक्षा गरिएको थियो । गरिएका सबै प्रतिबद्धता उपयुक्त भएकाले यथाशक्य पूरा गर्ने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रतिबद्धता गरेका छन् । कार्यशाला गोष्ठीमा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर २ का अध्यक्ष पन्दलाल गुर्वाल, गाउँपालिका योजना शाखा प्रमुख दिलबहादुर पौडेलसहित ३० बढीको सहभागिता रहेको थियो ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech