नेपालगन्ज/ राति सुतिरहेको अवस्थामा मट्टीतेल छर्केर आगो लगाउने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । सात वर्ष अघि दाइजो नल्याएको निहुँमा रिहाना ढपालीलाई आगो लगाउने उनका सुसुरा ७५ वर्षीय हनिफ शेष(ढपाली) लाई चैत ९ गते पक्राउ गरेको हो ।
नरैनापुर गाउँपालिका वडा नम्बर १ सुईयामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतमसमेतको टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो ।
बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नम्बर ८ हाल नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित घरमा २०७० चैत २ गते रिहानालाई दाइजो नल्याएको निहुँमा उनका ससुरा हनिष शेष, श्रीमान् मो. फरिद शेष र सासू सजहाद खाँले सुतिरहेको अवस्थामा मट्टीतेल छर्केर आगो लगाएका थिए । दाइजोबापत मोटर साइकल तथा नगद नल्याएको भन्दै रिहानालाई आगो लगाइएको थियो ।
आगोबाट घाइते भएकी रिहानालाई उनीहरुले स्थानीय र प्रहरीलाई खबरै नगरी उपचारको लागि भारत पुर्याएका थिए । केही समय उपचारपछि पूर्ण रुपमा निको नभएकी रिहानालाई उनीहरुले माइती पक्षको जिम्मा लगाएका थिए । तत्पश्चात् माइती पक्षले उनीहरु विरुद्ध उजुरी दिएका थिए । उजुरी लगत्तै उनीहरु फरार रहेका थिए ।
सो घटनामा संलग्न घाइतेको श्रीमान् फरिद शेष ढपाली र सासू सजहाद खाँ हालसम्म फरार रहेका छन् ।