त्रिवेणीले हरायो सैनिक युथलाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले हराएको छ ।
नेपालगन्ज रंगशालामा त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे । लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८औं मिनेटमा गोल गरे ।
खेलमा त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । उनलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले पुरस्कृत गरे । जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ । शिर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि परेको छ । यसैगरी सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ ।
बुधबारको दोस्रो खेलमा लुम्बिनी प्रदेशको धम्बोझीले धादिङ समाज धादिङसँग प्रतिस्पर्धा गर्दैछ ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech