‘कोभिड हिरो’ श्रेष्ठलाई बासमा स्वागत

असल शासन प्रतिनिधि

नेपालगन्ज/कोभिड हिरो सम्मानबाट पुरस्कृत जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्व फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बासले स्वागत गरेको छ । बास केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई स्वागत गर्दै बधाई ज्ञापन गरिएको हो ।

बिहीबार कोभिड १९ संक्रमणको समयमा देशैभरि कोभिड रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य कर्मचारीमध्ये श्रेष्ठ कोभिड हिरो घोषित भएका थिए । सम्मान पाएकै दिन बासले उनलाई स्वागत गरेको हो ।

बास केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहलगायतले श्रेष्ठलाई पुष्पगुच्छा, अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

एकाउन्टबिलिटी ल्याब काठमाडौंले पहिलोपटक उत्कृष्ट तीन कर्मचारीलाई कोभिड हिरोको रूपमा घोषणा गरेको छ । यसरी कोभिड हिरो बन्न सफल स्वास्थ्यकर्मीमध्ये जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्व फोकल पर्सन तथा हाल स्वास्थ्य कार्यालय बर्दियाका कोभिड फोकल पर्सन नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीका स्टाफ नर्स चण्डीका अधिकारी र धनगढी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्याय रहेका छन् । नेपालका उत्कृष्ट निजामति कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत लामो समयदेखि इन्टीग्रिटी आइकन छनौट गर्दै आएको एकाउन्टबिलिटी ल्याबले कोभिड हिरोका लागि आम नागरिकबाट आएको नोमिनेशनको आधारमा उनीहरुको कामको अध्ययन गर्दै अन्तिम तीन जनालाई कोभिड हिरो घोषणा गरेको हो । एकाउन्टबिलिटी ल्याबले दिएको जानकारी अनुसार कोभिड हिरोका लागि ३४ जिल्लाका ११५ जना स्वास्थ्यकर्मीको नाम नोमिनेशनमा परेको थियो ।

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech