बाँकेमा ३०७ जनाले प्राप्त गरे एकै पटक नागरिकता

यातायात र खाना निशुल्क खुवाएर प्रजिअ कुरुम्वाङले गरे बिदाइ

हेमराज भट्ट

नेपालगन्ज / जिल्ला प्रशासन कार्यालय बाँकेले ग्रामिण क्षेत्रका नागरिकसँग प्रत्यक्ष जोडिने नौलो तरिका अवलम्बन गरेको छ ।
बुधबार राप्तीसोनारी गाँउपालिकाका विभिन्न समुदायमा नै गएर नागरिकता प्रात्त गर्न नसकेका व्यक्तिहरुको कागजात संकलन गरेको जिल्ला प्रशासन कार्यालयले आज नागरिकता प्रदान गर्दै उनीहरुलाई निशुल्क यातायात सुविधा र खानाको समेत व्यवस्था गरेको छ । राप्तीसोनारी गाँउपालिकाको आदिवासी थारु बहुल क्षेत्रका ३०७ जनालाई आज बिहान निशुल्क बस मार्फत जिल्ला प्रशासन ल्याएकोमा उनीहरुलाई नागरिकता वितरण गरि दिउसोको खाना प्रशासन परिसरमा नै खुवाउने व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले असल शासनलाई बताए । आम नागरिकहरुलाई सरकारी कार्यालयले गर्ने काम प्रति विश्वस्त बनाउनुका साथै प्रशासन र नागरिकहरु बिचको सम्बन्ध सुमधुर बनाउन यस्तो कार्यक्रम गरिएको उनले बताए । बुधबार राप्तीसोनारीको समुदायमा गई आवश्यक कागजात संकलन गर्दै सनाखत समेतको काम सकेको बताउदै नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्रै नेपालगन्ज ल्याएर नागरिकता वितरण गरिएको उनको भनाई थियो ।
बुधबार अवेर राति सम्म प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीहरुको एउटा समुहले एकै पटक ३०७ जनाको नागरिकता तयार गरेको प्रशासन श्रोतले बतायो । प्रशासनले थालेको यो कार्यले आफुहरुले निकै सहज रुपमा नागरिकता प्राप्त गरेकोमा खुसी लागेको स्थानीयले प्रतिक्रिया दिएका छन् । नागरिकता वितरणको सम्पूर्ण कार्य राप्तीसोनारी गाँउपालिकासँगको सहकार्यमा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech