सतप्रतिशतलाई औषधी सेवन गराउन कस्सियो डुडुवा

असल शासन प्रतिनिधि

डुडुवा (बाँके)/बाँकेको डुडुवा गाउँपालिकाले हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियानलाई यस वर्ष थप प्रभावकारी बनाउने रणनीति अपनाएको छ । गाउँपालिकाका शतप्रतिशत नागरिकलाई रोगविरुद्धको औषधी सेवनको कार्यलाई प्रभावकारी बनाउन रणनीति अपनाइएको हो ।

यस वर्ष औषधी सेवनपछि गाउँपालिकाबाट चारवटा छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायतको अनुगमन टोलीले गाउँपालिकाका कुनै पनि नागरिक औषधी खानबाट नछुटुन् र यदि छुटेमा पुनः औषधी सेवन गराइनेछ ।

गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सञ्चारकर्मीका लागि अभिमुखीकरणमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । डुडुवा गाउँपालिकाका ४४ हजार २१ जनालाई हात्तीपाईले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य लिइएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मी र ५९ जना महिला स्वास्थ्य स्वम्सेविका खटिने छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मकी सुत्केरी, सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधी सेवन गर्न नहुने स्वास्थ्य शाखा प्रमुख बुढाले बताए ।

अभिमुखीकरणमा स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्र घलेले हात्तीपाइले रोगको लक्षण, असर, समस्या अपनाउनु पर्ने सावधानी औषधी सेवनलगायतका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

बाँकेमा यही चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने अभियान सुरु हुँदैछ । बाँकेसहित १२ जिल्लामा आम औषधी सेवन कार्यक्रम संचालन हुँदैछ । यस वर्ष औषधी सेवनका बारेमा सचेतना अभिवृद्धिको कार्यलाई समेत थप प्रभावकारी रूपमा बढाइएको छ ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech