वैदेशिक रोजगारबारे प्रहरीलाई अभिमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/बर्सेनि कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै छ । त्यति मात्र नभएर प्रहरी सेवामा प्रवेश गरेकाहरु अवकाश प्राप्त भएपछि कामको खोजीमा वैदेशिक रोजगारलाई नै पहिलो प्राथमिकतामा राख्ने गर्छन् । यस्तो अवस्थामा वैदेशिक रोजगारमा किन जाने ? वा वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिँदै सीप सिकेर मात्र जानु पर्ने कुरामा जोड दिँदै बाँकेका प्रहरीहरुलाई एक दिने सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण गरिएको छ । जिल्लास्थित जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयका ५० जना प्रहरीलाई सो अभिमुखीकरणा गराइएको हो ।

इनरुडेकका अध्यक्ष धर्म रोकायको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सामी प्रयोजना कार्यक्रमका संयोजक सनत सापकोटा, प्रदेश प्रयोजना संयोजक बुटवलका पञ्चराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताले कामको खोजीमा भारतबाहेक ५ लाख भन्दा बढी प्रत्येक वर्ष वैदेशिक रोजगारमा जाने गरेको बताए । त्यसमध्ये करिब १ हजार बढी युवा दैनिक वैदेशिक रोजगारमा जाने गरेका छन् । तर वैदेशिक रोजगारमा जाने सबैले वैदेशिक रोजगार ऐन २०६४ लाई पालना गरेको पाइँदैन् । सोही कुरालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा जानेले कुनै पनि संघसंस्था कस्तो छ जुन कम्पनीबाट विदेश जाने हो त्यसले इजाजत लिएको छ कि छैन, विदेशमा गएर काम गर्दा पाइने सेवासुविधाबारे राम्रोसँग बुझ्नु पर्नेलगायतका कुरा प्रहरी र सरोकारवाला निकायले वैदेशिक रोजगारीमा जानेलाई सिकाउनु पर्ने बताएका थिए ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech