‘राष्ट्रिय झण्डा’सहित विद्यालयका ४ झण्डामा आगजनी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित एक विद्यालयमा अज्ञात समूहले ‘राष्ट्रिय’ झण्डासहित विद्यालयका ४ वटा झण्डामा आगजनी गरेका छन् । ढकेरीस्थित गणेश मावि आइतबार राति करिब ११ बजेदेखि साढे ११ बजेको समयमा उक्त झण्डामा आगजनी भएको हो ।

विद्यालयमा आगो लागिरहेको देखेपछि गस्तीमा हिँडेको प्रहरीले झण्डा भन्ने थाहा नपाएर नजिकै रहेको सिक्टा नहरमा लगेर फालेको थियो । बिहान आगलागी भएको झण्डा हो भन्ने हल्ली खल्ली मच्चिएपछि प्रहरीले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको थियो । आगजनी गरेको आरोपमा पक्राउ परेका ५ जना उपर आवश्यक अनुसन्धान गरी उनीहरुको संलग्नता नपाइएपछि छोडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । राष्ट्रिय झण्डा जलाइएको विषयमा उनले विद्यालयका झण्डामात्र अज्ञात समूहले जलाएको बताउँदै भने,‘ आगजनी गर्नेको खोजी कार्य भइरहेको छ । के र कति कारणले आगजनी भयो त्यो विषयमा पनि अनुसन्धान भइरहेको छ ।’

गणेश मावि व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर ओलीले भने राष्ट्रिय झण्डासहित विद्यालयका झण्डामा आगजनी भएको बताए । उनले विद्यालयमा तीन महिना अघि राखिएको राष्ट्रिय झण्डा पुरानो रहेको र पक्राउ परेका ५ जना शंकास्पद व्यक्तिबाट भर्खरै किनेर ल्याइएको जस्तो नयाँ झण्डा फेला परेको बताए । राति करिब ११ बजदेखि साढे ११ बजेको समयमा भएको आगजनीको ९ घण्टापछि झण्डा भेटिएको स्थानदेखि एक किलोमिटरको फरकमा सँगै सुतिरहेको अवस्थामा ती ५ व्यक्ति पक्राउ परेका थिए । पक्राउ परेकाबाट राष्ट्रिय झण्डा पनि बरामद भएको बताउँदै उनले भने,‘ अनुसन्धान गर्ने पाटो प्रहरीको भएकाले राष्ट्रिय झण्डासहित विद्यालयका झण्डा जलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्छ ।’

पक्राउ परेका ३ जनामा दुई जना गणेश माविकै विद्यार्थीसमेत रहेको बताइएको छ ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech