सरकारी निर्देशनको बर्खिलाप गर्दै विद्यालय खुला, अभिभावक अन्योलमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आकस्मिक बैठकले (चैत्र १७ गते) देखि शुक्रबार (चैत्र २० गते) सम्म विद्यालय बन्द गर्न निर्णय गर्‍यो । विद्यालय बन्द हुने भएपछि बाँकेका अधिकांश अभिभावक जसले मन्त्रालयको सूचना पढे ढुक्क साथ आफ्ना बाबुनानीलाई घरमै राखे । जसले सूचना पढेनन् उनीहरुले विद्यालय पठाए । वायुमण्डलमा देखिएको मौसम प्रतिकूल नभएकाले विद्यार्थीमा पर्न सक्ने असरलाई ध्यानमा राखेर देशभरका शैक्षिक संस्था बन्द गर्न सूचना जारी भए पनि बाँकेका केही निजी विद्यालयले निर्वाध विद्यालय सञ्चालनमा ल्याए । यसरी सरकारी निर्देशनको बर्खिलाप गर्दै निजी विद्यालय सञ्चालनमा आएपछि अभिभावक अन्योलमा परेका हुन् ।

यस विषयमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख गोरख थापालाई बुझ्दा उनले मन्त्रालयबाट जारी सूचना बमोजिम उपमहानगरपालिका मातहतका सम्पूर्ण विद्यालय बन्द रहेको बताएका छन् । मन्त्रालयले नै सूचना जारी गरेकाले त्यो नै मान्य हुने भएकाले उपमहानगरपालिकाले पत्राचार गर्नु पर्ने आवश्यकता नभएको बताए ।

बाँकेमा मन्त्रालयले उल्लेख गरेजस्तो वायु प्रदूषण नभएकाले कुनै विद्यालयले खोल्न पाउ भने पनि सरकारी निर्देशनलाई मान्नु पर्ने बताउँदै विद्यालय बन्द गर्न सूचना जारी गरेको जिल्ला शिक्षा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले बताए। मन्त्रालयको निर्देशनको बर्खिलाप गर्दै विद्यालय खुलेको जानकारी नआएको बताउँदै उनले भने,‘ हामीलाई अहिलेसम्म विद्यालय खुलेको जानकारी आएको छैन । यदि खुलेका छन् भने अनुगमन गरेर मन्त्रालयले तोकेको अवधिसम्मका लागि विद्यालय बन्द गराउँछौं ।’

त्यस्तै कोहलपुर क्षेत्रका कुनै विद्यालयको परीक्षा चलिरहेकोले खुला रहेको र कोरोनाका कारण लामो समय बन्द भएका विद्यालयमा पठनपाठन राम्रोसँग हुन नसकेकाले अन्य विद्यालय पनि खुलेको एन प्याब्सनका सचिव यम रावतले जानकारी दिए। मन्त्रालयले जारी गरेको जस्तो वायु प्रदूषण कोहलपुर क्षेत्रमा नभएको र संविधानले दिएको व्यवस्था अनुरुप नियमन गर्ने निकाय कोहलपुर नगरपालिकाबाट पनि कुनै जानकारी नआएकाले विद्यालयहरु सञ्चालनमा आएको हुन सक्ने उनले बताए । यस विषयमा नगरपालिकामा छलफल भइरहेकाले सम्भवतः बुधबार (भोलि)बाट विद्यालय बन्द हुन सक्ने उनले बताए ।

यता मन्टेश्वरी एसोसियसनका अध्यक्ष लुना बुढाथोकीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने सम्बन्धी सूचना जारी गरेलगत्तै एसोसियसनले पनि सार्वजनिक सूचना जारी गरेर सबै मोन्टेश्वरीलाई बन्द गराउन आग्रह गरेको बताइन् । यद्यपि सबै मन्टेश्वरी विद्यालयले मन्त्रालयको निर्णयलाई पालना नगरेकाले बुधबार(भोलि)देखि अन्य बन्द भएका मन्टेश्वरी पनि सञ्चालनमा आउन सक्ने सम्भावना बढेको बताइन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेको विद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाले स्वास्थ्य सजगता अपनाउँदै परीक्षा सञ्चालन गर्न सक्ने मन्त्रालयले जारीको सूचनामा उल्लेख छ ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech