जातीयताले दिएको चोट

धनी र शिक्षित परिवारभित्र पनि दलितलाई हेर्ने नजर देख्दा दया लागेर आउँछ । अहिले महाराजगन्जमा आफ्नै घर बनाएर बसेको छु । हिजोका दिनमा जातीयताका कारण भोग्नु परेका कष्टकर दिन सम्झिँदा अहिलेसम्म पनि मनमा पिरो भएर आउँछ । यो वर्ग सङ्घर्षको लडाइमा म निरन्तर छु ।

दिला शाह

जेठ महिनाको अत्यन्तै गर्मीको दिन थियो । पानी प्यासले ब्याकुल बनाएको थियो । स्कुलको धारा बिग्रेकाले केही दिनदेखि पानीको अभाव थियो । स्कुलको खेल मैदान नजिकै ब्रह्माणको घर थियो । त्यहीँ सबैजना साथीहरू पानी पिउन गए । तब म पनि उनीहरुसँगै धारा नजिक गएँ ।

सबैले पालैपालो पानी पिए । जब म धाराको नजिक जाँदै थिएँ तब मलाई पछाडिबाट कसैले कर्कश आवाजमा भन्यो,‘ए दलित त त्यो धारा न छो ! त कमिनीले त्यो धारा छोइस् भने हाम्रो भगवान् रिसाउँछन् । दलित भएर ब्राह्मणको दैलोमा टेकेर पानी खाने आट गर्ने ? त जाबीलाई तेरो बाउ आमाले सिकाएनन् । हामी दलित हो । ठूला बडाको घरमा जानु हुँदैन । अरुको सामान छुनु हुँदैन भनेर ?’

म हैरान हुन्छु । केही सोच्नै सकिनँ । बाल हृदयमा एकैपटक धेरै कुराहरू खेल्न थाले । प्यासले ब्याकुल भए पनि अगाडि सरेर पानी पिउने आट मैले गर्न सकिनँ । कलासमा गएपछि अर्काे विषय पढाइ हुन थाल्यो । मेरो मन भने एक तमासले उदास भइरह्यो । किन म दलित भए ? त्यति धेरै जनाको भिडमा म नै दलित हुँ भनेर त्यो ब्राह्मण भन्ने मानिसले कसरी थाहा पायो ?

धेरैबेरसम्म घोत्लिरहें । कलकल पारेर लागेको प्यास पनि हराए जस्तो भएको थियो । स्कुल बिदा हुने समय भयो । सबै विद्यार्थीहरुलाई लाइनमा लगाइयो । हामी केही विद्यार्थीलाई भने अलग्गै लाइनमा लगाइयो । तब याद गरे , हामी दलित भनिनेहरुको ड्रेस नै फरक रहेछ । अरुको सेतो सर्टमा नीलो मेडी थियो भने हामी दलितहरुको कालो मेडी र खैरो सर्ट रहेछ ।

शिक्षाको मन्दिरमा नै भएको भेदभाव बल्ल बुझें । मन अमिलो भएर आयो । घर समाज गाउँ छिमेकी र स्कुलमा हामीप्रति गरिने भेदभावले मन खिन्न हुन्थ्यो । सबैको नजरमा हामी दलित त्यसैमाथि पनि हाम्रो एकदमै कमजोर आर्थिक स्थिति थियो । हामीले चाहेर मात्रै छुवाछुतको बलियो जरा टुट्ने वाला थिएन ।

स्कुल जस्तो पवित्र स्थानमा गरिएको वर्ग भेदको कुरा मलाई मन परिरहेको थिएन । आमा अरुको घरमा कपडा धुन सरसफाइ गर्न जानु हुन्थ्यो । आमासँगै म पनि काम गर्न जान्थें । काम गरेर अलि अलि गरेर कमाएको पैसाले स्कुलको ड्रेस किन्ने बिचार गरें । जसरी अरु जातका छोराछोरीले सेतो सर्ट र निलो मेडी लगाउथे । मलाई पनि त्यस्तै ड्रेस लगाउनु थियो । मैले उक्त ड्रेस हरहालमा किनें । उक्त ड्रेस लगाएर स्कुल गएको दिन मलाई त्यहाँबाट रेष्टीगेट गरियो । दलित भएर यत्रो हिम्मत गरेर अन्य जातीयताको गरिमामाथि लात हानेको भनेर कारबाही गरियो ।

मेरो मनमा झनै आक्रोशको आगो दन्कियो । उक्त स्कुलमा पढ्न नपाएपछि घरबाट दुई घण्टा हिँडेर पुग्नु पर्ने अर्काे स्कुलमा भर्ना भएँ, जहाँ दलित भनेर फरक रंगको कपडा लगाउनु पर्थेन ।

मावि तहको पढाइ त्यहीँ स्कुलबाट सकेर म उच्च शिक्षा हासिल गर्नको लागि सहर गएँ । त्यहाँ मावलको हजुर आमा बस्नु हुन्थ्यो । हजुर आमाले पनि अरुको काम गर्नु हुन्थ्यो । म पनि खाली समयमा हजुर आमासँग अरुको घरमा झाडु पोछा गर्न जान्थें । पछि मेरो होस्टेलमा बस्ने एकजना साथीले थाहा पाएपछि मलाई दलित भनेर होस्टेलबाट निकाल्नु पर्ने माग राखी तर उसले भने जस्तो गरेर निकाल्न त मिलेन पछि उसले मलाई हरेक प्रकारका ट्रचरहरु दिएर हैरान बनाई । उसका साथीहरू मिलेर मेरा कापीकलमसमेत गुम गर्दिन्थे । म हैरान भएर होस्टेल गुरुसँग सबै कुरा राखे । पछि बाध्य भएर अन्तमा उसले नै बरु कलेज छोडेर गई । मलाई मेरो बुवाले सिकाउनु भएको थियो कि, सत्य कामको लागि कहिल्यै कसैसँग नझुक्नु ।

समाजशास्त्र विषय लिएर ग्रयाजुयट गरेपछि एक युनिभर्सिटीमा नाम निकालेर अध्यापन गराउन थालें । हजुर आमालाई एउटा राम्रो फल्याट लिएर बसाले । आफू प्रोफेसर भएकोले बिहानै कलेज जान्थे र सधैं अबेर कोठामा फर्किन्थे । एकदिन अलि सन्चो नभए पछि छिट्टै कोठामा फर्किएँ । हजुर आमाले घरबेटीको आँगन, कोलिया, कोठा सफा गर्दै हुनुहुन्थ्यो म अचम्म मानेर सोधें, ‘बुढो मान्छे नसक्ने उमेरमा यो के गर्नुभएको ?’ हजुर आमाले आँखाभरी आँसु पार्दै भन्नुभयो,‘हामी दलित भएकोले घरबेटीको घर सबै सफाइ गर्दिनु पर्ने कुरा घरबेटी नानीले भन्नुभयो । नत्र यो घरमा बस्न दिन्नौं भन्नुभएको थियो । तिमी कलेज गएपछि म सधैं उहाँको कोठा, आँगन, कोलिया सफा गर्थंे नानी !
उफ ! यो जातीयताको जालो जताततै रहेछ ! म मर्माहत भएँ । घरबेटीसँग कुरा गरे, दलित भएपछि काम त गर्नै पर्‍यो भनि, नत्र कसरी बस्न दिनु घरमा ? यही गुण हेरेरमात्र म चुपचाप लागेको नत्र अस्ति नै कोठा खाली गर्न लगाउथे ।’ घरबेटीसँग चर्काचर्की पर्‍यो । मैले तुरुन्तै त्यो घरबाट अन्तै डेरा सारें ।

धनी र शिक्षित परिवारभित्र पनि दलितलाई हेर्ने नजर देख्दा दया लागेर आउँछ । अहिले महाराजगन्जमा आफ्नै घर बनाएर बसेको छु । हिजोका दिनमा जातीयताका कारण भोग्नु परेका कष्टकर दिन सम्झिँदा अहिलेसम्म पनि मनमा पिरो भएर आउँछ । यो वर्ग सङ्घर्षको लडाइमा म निरन्तर छु ।

मेरो बुवाआमा, हजुरआमा सबैले यो धर्तीबाट बिदा लिई सक्नु भएको छ । जसरी उहाँहरुलाई उहाँहरुको समाज र पुर्खाले दलितको ट्याग लगाई दिए । सबै अपमान सहेर पनि उहाँहरुले यो कुरालाई सहनु भयो तर अबको आउने पुस्ताले यो कुरा भोग्नु नपरोस् भन्ने मेरो उद्देश्य छ ।
यस्तो अमानवीय कार्यलाई सहँदै अहिलेको एक्काइसौं सताब्दीसम्म आइपुग्दासम्म पनि अझै यदाकदा अमानवीय र अपमानित व्यवहार सहँदै आएका पक्षमा काम गर्न र यो समाजलाई जातीयताको दलदलबाट माथि उठाउन हरदम प्रयासरत छु । मानिस जातीयताले होइन उसको क्षमता र दक्षताले पुजनीय हुनुपर्छ । मानिस मानिस जस्तो भएर स्वतन्त्र बाँच्न पाउनु पर्छ । कुनै पनि मानिस, जातीयताको आधारमा अपमानित हुन नपरोस् ।
–गीता नेपाली, काठमाडौं

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech