राष्ट्रिय झण्डा जलाइयो, घटना रहस्यमय बन्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रहरीको फितलो अनुसन्धानका कारण ‘राष्ट्रिय झन्डा’ जलाउने व्यक्ति पक्राउ पर्न सकेका छैनन् । ५ दिन पहिले चैत्र १३ गते रातिको समयमा अज्ञात समूहले बाँकेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित श्री गणेश माविमा राष्ट्रिय झण्डा सँगै विद्यालयका अन्य ४ वटा झन्डामा आगजनी गरेका थिए ।

राति करिब साढे ११ बजेको समयमा गस्तीमा हिँडेको प्रहरीले सिक्टा नहरको किनारमा आगो बलिरहेको देखेपछि आगो निभाएका थिए । उक्त आगजनी भएकै ठाउँबाट गस्ती प्रहरीलाई देखेपछि ४ जना युवा मोटरसाइकलमा भागेको ढकेरी प्रहरी विटका इन्चार्ज असई देवेन्द्र घर्तीले बताए । बिहान विद्यालयमा रहेका सबै झण्डाहरु गायब भएको देखेपछि खोजी गर्दै जाँदा राति आगो लगाइएको स्थानमा तिनै हराएका झण्डा जलेको अवस्थामा भेटिएका थिए । राष्ट्रिय झण्डा जलाएको भन्ने जानकारी भएपछि सो खबरले हल्ली खल्ली मच्चिएको थियो । सो सनसनीपूर्ण खबर फैलिएसँगै तातिएको प्रहरीले भागेका ४ व्यक्तिसहित ५ जनालाई एकै स्थानमा सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो । स्थानीय प्रहरीले पक्राउ गरेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको थियो । असई घर्तीले दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये एक जनाबाट राष्ट्रिय झण्डा बरामद भएको थियो ।

यसरी आगजनी गरेको आरोपमा पक्राउ परेका ५ जनालाई सामन्य सोधपुछ गर्दै छोडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले बताए । झण्डा जलाउने जस्तो गम्भीर विषयमा प्रहरीले चासो दिएर अनुसन्धान नगरेका कारण कहीँकतै प्रहरीबाट नै घटनालाई दबाउन खोजिएको त होइन आशंका पैदा भएको छ ।

उता यस विषयमा गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर ओलीले प्रमाणसहित पक्राउ परेकालाई छोड्दा घटनालाई दबाउन खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको बताए । प्रहरीले राष्ट्रिय झण्डा नजलाएर विद्यालयका मात्र झण्डा जलेको भन्ने कुरा बाहिर ल्याउनुमा नै शंका गर्ने ठाउँ भएको प्रधानाध्यापक ओलीको भनाइ थियो । उनले तीन महिना अघि किनेर विद्यालय प्राङ्गणमा लगाइएको झण्डा घाम पानी खाँदा समेत भर्खरै किनेर ल्याएको जस्तो देखिनु रहस्यमय भएको बताए ।

झण्डामा आगजनी हुनु, आगजनी स्थलबाट भागेका युवाहरु एकै ठाउँमा सुतेको अवस्थामा फेला पर्नु र उनीहरुको साथबाट समेत राष्ट्रिय झण्डा प्रहरीले बरामद गर्नुले घटनालाई घुमाउन खोजिएको प्रष्ट देखिन्छ । प्रहरी अनुसन्धानमा उनीहरु निर्दोष पाइनु आफैंमा आश्चर्य भएको स्थानीय बताउँछन् । अनुसन्धान गर्ने पाटो प्रहरीको हो राष्ट्रिय झण्डासहित विद्यालयका झण्डा जलाउने व्यक्तिलाई तत्काल कानुनी कटघरामा ल्याउनु पर्नेमा स्थानीयहरुको जोड छ ।

घटनाका विषयमा कोहलपुर इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । यसरी उजुरी नै परेपछि झण्डामा के कति कारणले आगजनी भयो भन्ने विषयमा अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले असल शासनलाई बताए । पक्राउ परेका व्यक्तिबाट बरामद भएको झण्डा विद्यालयका प्रधानाध्यापकले लगेका थिए तर स्कुलको झण्डा भन्दा उक्त झण्डा फरक भएको भन्दै स्थानीयले विरोध गरेपछि उक्त झण्डा प्रहरीले नै राखेको डिएसपी खनालले बताए । विद्यालय व्यवस्थापन समिति, स्थानीय प्रहरी र इलाका प्रहरीको भनाइसमेत एकआपसमा बाँझिदा घटना थप रहस्यमय बन्दै गएको छ । घटनाका विषयमा आरोप प्रत्यारोप भइरहेको अवस्थामा सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाई कानुन बमोजिम कारबाही गर्ने दबाबमा प्रहरी छ ।
नेपालको विद्यमान मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यस सम्बन्धी व्यवस्था गरेकोछ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech