ज्वाला सिंहको नाममा चन्दा उठाउने ४ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ज्वाला सिंहको नाममा चन्दा उठाउने चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गा.पा.वडा नम्बर ४ सूर्यलालपुरका क्रमशः २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी, ४० वर्षीय भीमबहादुर भण्डारी र दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नम्बर १५ घर भई नेपालगंज उप-महानगरपालिका वडा नम्बर ४ सल्यानीबाग बस्दै आएका २९ वर्षीय ज्योतिप्रकाश चौधरी रहेका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ जुरपानीका सीताराम थारुलाई विगत १ हप्तादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरी दुई लाख रुपैयाँ चन्दा माग गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पुरैनीबाट १० हजार रुपैयाँसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाबाट चन्दा माग्दा प्रयोग गरेको ९८२६५१८९२९ नम्बरको सिमसहित नियन्त्रणमा  लिई आवश्यक अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका विकास चौधरीले नेपालगन्ज ४ न्यूरोडमा न्यू राप्ती खाजा घर संचालन गर्दै आएका थिए । मेघनाथ चौधरी कृषि पेसामा संलग्न छन् भने  ज्योती प्रकाश चौधरी ज्याला मजदुरी गर्छन् । त्यस्तै भीमबहादुर भण्डारी अटो चालक हुन् भने उनी पूर्व जनमुक्ति सेना कम्पनीका कमाण्डरसमेत रहेको एसपी रानाले जानकारी दिए ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech