‘राष्ट्रिय झण्डा जलाउने दोषीलाई संरक्षण गरेको आरोप’

असल शासन प्रतिनिधि

राष्ट्रिय झण्डालगायत स्कुलका झण्डा टङ्ग्याइएको पोल । 

नेपालगन्ज/ ‘राष्ट्रिय झन्डा’सहित विद्यालयका ४ वटा झन्डा जलाउने व्यक्तिलाई छिटो भन्दा छिटो कारबाही गर्नु पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का स्थानीयले माग गरेका छन् । गत चैत १३ गते रातिको समयमा अज्ञात समूहले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित श्री गणेश माविमा राष्ट्रिय झण्डासँगै विद्यालयका अन्य ४ वटा झन्डामा आगजनी गरेका थिए ।
झन्डा जलाएको १५ दिन बितीसक्दा पनि दोषी पत्ता नलाग्दा प्रहरीको अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै दोसी पत्ता लगाई विद्यालयमा नयाँ झण्डा राख्ने वातावरण मिलाउनु पर्नेमा स्थानीयको जोड दिएका छन् । यसरी प्रहरी प्रशासन नै चुप लागेर बस्दा गाउँमा अन्य घटना पनि बढ्न सक्ने भएकाले अनुसन्धानको पाटोलाई प्रभावकारी बनाउनु पर्ने स्थानीयको तर्क रहेको छ ।

राति करिब साढे ११ बजेको समयमा गस्तीमा हिँडेको प्रहरीले सिक्टा नहरको किनारमा आगो बलिरहेको देखेपछि आगो निभाएका थिए । उक्त आगजनी भएकै ठाउँबाट गस्ती प्रहरीलाई देखेपछि ४ जना युवा मोटरसाइकलमा भागेको ढकेरी प्रहरी विटका इन्चार्ज असई देवेन्द्र घर्तीले बताए पनि अनुसन्धानमा ढिलाइ भइरहेको स्थानीय श्रीधर उपाध्यायले बताए ।

नेपाल प्रहरीको अनुसन्धान विश्वमै उत्कृष्ट मानिन्छ । निकै कम समयमा प्रहरीले हत्या जस्ता गम्भीर खाले घटनाका दोषीलाई निकै कम समयमा सार्वजनिक गरेको पनि छ तर राष्ट्रिय झन्डा जलाउनेलाई १५ दिन बित्दा पनि प्रहरीले सार्वजनिक गर्न नसक्नुले यस घटनालाई लिएर प्रभावकारी दंगले अनुसन्धान नगरेको आशंका उब्जिएको उपाध्यायले बताए । उनले आक्रोशित हुँदै प्रहरीले दोषी पत्ता लगाउन नसक्ने भए हामी सामु आएर सक्दिन भन्नु पर्ने बताएका छन । जानी–जानी घटना लुकाउने काम भएको आशंका बढेको उनको भनाइ छ । बिहान विद्यालयमा रहेका सबै झण्डाहरु गायब हुनु, खोजी गर्दै जाँदा राति आगो लगाइएको स्थानमा भेटिनु अनि स्कुलको राष्ट्रिय झन्डासहित अनुसन्धानका लागि पक्राउ गरिएकालाई सामान्य सोधपुछ गरेर छोडिनुले नै प्रहरी अनुसन्धानमा शंका गर्ने प्रशस्त आधार रहेको बताइन्छ ।

राष्ट्रिय झण्डा जलाएको भन्ने जानकारी भएपछि सो खबरले हल्ली खल्ली मच्चिएको भए पनि यकिन कुरा प्रहरीले पत्ता लगाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर वलीले बताए । सो सनसनीपूर्ण खबर फैलिएसँगै तातिएको प्रहरीले भागेका ४ व्यक्तिसहित ५ जनालाई एकै स्थानमा सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो । स्थानीय प्रहरीले पक्राउ गरेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको थियो । पक्राउ परेकामध्ये एक जनाबाट राष्ट्रिय झण्डा बरामद भएको थियो ।

यसरी आगजनी गरेको आरोपमा पक्राउ परेका ५ जनालाई सामन्य सोधपुछ गर्दै छोडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले बताए । झण्डा जलाउने जस्तो गम्भीर विषयमा प्रहरीले चासो दिएर अनुसन्धान नगरेका कारण कहीँकतै प्रहरीबाट नै घटनालाई दबाउन खोजिएको त होइन आशंका पैदा भएको छ ।

प्रहरी अनुसन्धानमा उनीहरु निर्दोष पाइनु आफैंमा आश्चर्य भएको स्थानीय बताउँछन् । अनुसन्धान गर्ने पाटो प्रहरीको हो राष्ट्रिय झण्डासहित विद्यालयका झण्डा जलाउने व्यक्तिलाई तत्काल कानुनी कटघरामा ल्याउनु पर्नेमा स्थानीयहरुको जोड छ ।
घटनाका विषयमा कोहलपुर इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । यसरी उजुरी नै परेपछि झण्डामा के कति कारणले आगजनी भयो भन्ने विषयमा अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले असल शासनलाई बताए पनि यस विषयमा कुनै तथ्य सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।

नेपालको विद्यमान मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यस सम्बन्धी व्यवस्था गरेकोछ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech